कार्यदलका सदस्यलाई ओलीले बालुवाटार बोलाए
काठमाडौं : प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी विवाद समाधानका लागि अघिल्लो पटक गठन गरिएको कार्यदलका सदस्यहरुलाई छलफलका लागि बोलाएका छन्।
६ सदस्सीय कार्यदलका ५ सदस्यसँग अहिले १२ बजे ओलीले छलफल गर्ने जनाइएको छ।
पार्टीमा उत्पन्न विवाद समाधानको उपायबारे स्थायी समिति सदस्यसमेत रहेका कार्यदल सदस्यहरुसँग प्रधानमन्त्रीले छलफल गर्न लागेको कार्यदलका सदस्य तथा स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिए।
कार्यदलका एक सदस्य जनार्दन शर्मा भने कोरोना संक्रमित भएकाले छलफलमा सहभागी हुन नस्कने जनाइएको छ।
कार्यदलमा शर्मावाहेक महासचिव विष्णु पौडेल र स्थायी समिति सदस्यहरु भीम रावल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, र पम्फा भुसाल छन्।
केही दिनदेखि प्रधानमन्त्रीले पार्टी विवादमा केन्द्रीत रहेर पार्टीका विभिन्न पक्ष र नेताहरुसँग परामर्श गरिरहेका छन्।
पौडेल पुगे खुमलटार
यसैबीच महासचिव पौडेल नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न खुमलटार पुगेका छन्।प्रधानमन्त्री ओलीको सन्देश लिएर महासचिव पौडेल खुमलटार पुगेका हुन्।
शनिबार बहुमत सचिवालय सदस्यहरुले प्रधानमन्त्री ओलीलाई पार्टीभित्रको समस्या समाधानका लागि बैठक बोलाउन आग्रह गरेका थिए। तर, उनले बैठक नबोलाउने अडान लिएका थिए।
प्रधानमन्त्रीको व्यवहारबाट रुष्ट बनेका प्रचण्डलाई फकाउन प्रधानमन्त्रीले महासचिवलाई पठाएको स्रोतको दाबी छ।
सचिवालय सदस्यहरुबाटै दबाबमा परेका प्रधानमन्त्री ओलीले आइतबार वरिष्ठ नेता माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्तलाई बोलाएर मिलेर अघि बढ्न आग्रह गरेका थिए।
कात्तिक २४, २०७७ सोमबार ११:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।