उद्दार उडान बन्द गर्न सीसीएमसीको सरकारलाई सिफारिस
काठमाडौं : कोरोनाका कारण विदेशमा अलपत्र परेका नेपालीहरुको उद्दार सकिएकाले उद्दार उडान बन्द गर्न कोभिड—१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सरकारलाई सिफारिस गरेको छ।
सीसीएमसीको आइतबार बसेको बैठकले उद्दार उडान बन्द गर्न सरकारलाई सिफारिस गरेको हो।
विभिन्न देशमा रहेका नेपाली कुटनीतिक नियोगहरुले लगभग उद्दारको सकिएको जानकारी गराएपछि उद्दार उडान बन्द गर्न सरकारलाई सिफरिस गर्ने निर्ण भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव महेन्द्र प्रसाद गुरागाईंले बताए।
अहिलेसम्म १ लाख ३६ हजार २ सय १६ जनाको उद्दार गरी स्वदेश फर्काएको सरकारी तथ्यांक छ।
कुनै देशबाट पुनः उद्दार गरी ल्याउनुपर्ने अवस्थामा नियमित उडानबाट नै ल्याउने व्यवस्था मिलाउनुपर्ने सीसीएमसीले निर्णय गरेको छ।
यसैगरी सीमानाका हुँदै नेपाल भित्रिन १३ वटा प्रवेश विन्दु रहेकोमा बैतडीको झुलाघाट नाका पनि सुरु गर्ने निर्णय बैठकले गरेको छ।
यस्तै बैठकले केबलकार, जंगल सफारी र सासहिक पर्यटनका क्षेत्र खुला गर्न पनि सरकारलाई सिफारिस गरिएको गुरागाईंले बताए।
होम आइसोलेसनमा रहेका कोरोना संक्रमितहरुको संख्या धेरै रहेको अवस्थामा स्वास्थ्य परामर्शका लागि स्थानीय तहका वडाहरुबाट स्वास्थ्यकर्मीले परामर्श सेवा दिन अनुरोध गर्ने निर्णय पनि सीसीएमसीले गरेको छ।
कुटनीतिक नियोगका कर्मचारीका परिवारलाई पनि नेपाल आउन दिने निर्णय गर्न मन्त्रिपरिषद्लाई सिफरिस गरिएको छ।
कात्तिक २३, २०७७ आइतबार १६:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।