अख्तियारमा साउनयता दुई हजार उजुरी 

अख्तियारमा साउनयता  दुई हजार उजुरी 

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गत साउनयता झण्डै दुई हजार उजुरी परेका छन्।

आयोगका अनुसार साउनदेखि कात्तिक २२ गतेसम्म देशभरका अख्यियार कार्यालयमा एक हजार ९२८ उजुरी परेका हुन्। 

आयोगका अनुसार इटहरीस्थित कार्यालयमा  ३६५ उजुरी परेको छ। यस्तै, बुटवलमा ३६३, कञ्चनपुरमा ३४४, सुर्खेतमा २७५, पोखरामा २०७ र हेटौडामा १८३, पोखरामा २०७ उजुरी परेको छ। यसैगरी, बुटवलको सम्पर्क कार्यलय नेपालगञ्जमा भने १७२ उजुरी परेको आयोगले जनाएको छ।

बर्दिबासस्थित कार्यालयमा भने उजुरी नपरेको आयोगका पदाधिकारी बताउँछन्। 

कुन महिनामा कति ?

पछिल्लो चार महिनामा सबैभन्दा बढी साउनमा उजुरी परेको छ। सो महिनामा ८०८ उजुरी दर्ता भएको आयोगले जनाएको छ।

यस्तै, असोजमा ३८७, भदौमा ३८७ र कात्तिक (२२ गतेसम्म)मा २०४ उजुरी परेको छ। 

कात्तिकमा ८ कार्यालयमा ‘स्ट्रिङ अपरेसन’ 

आयोगले कात्तिकमा देशभरका विभिन्न आठ वटा सरकारी कार्यालयमा ‘स्ट्रिङ अपरेसन’ गरेको जनाएको छ। ‘स्ट्रिङ अपरेसन’बाट १५ लाख ६७ हजार ६ सय रूपैयाँ घुस र रिसवत रकम बरामद गरिएको आयोगले जनाएको छ। 

आयोगका प्रवक्ता तारानाथ अधिकारीले घुस रकम लिने सूचनाका आधारमा ‘स्ट्रिङ अपरेसन’ थालिएको बताए। 

उनका अनुसार गत बुधबार नेपाल विद्युत प्राधिकरण, हेटौंडा–भरतपुर–बर्दघाट २२० केभिए प्रसारण लाइन आयोजना, हेटौंडाका कार्यालय प्रमुख एवं इन्जिनियर ईश्वरीप्रसाद जयसवाललाई १० लाख रूपैयाँ घुस रकमसहित मकवानपुरबाट पक्राउ गरिएको छ। कात्तिकमा अख्तियारले बरामद गरेको यो सबैभन्दा बढी रकम हो। 

आयोगका अनुसार इन्जिनियर जयसवालले निर्माणाधिन प्रसारण लाइनमा पर्ने रुखहरू कटान गरी ढुवानी तथा घाटगद्दी सम्पन्न गरेको रकम भुक्तानी दिनका लागि सेवाग्राहीसँग घुस माग गरेका थिए। 
 

कात्तिक २३, २०७७ आइतबार १५:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।