कोशी अस्पतालका थोत्रा भवन हटाइने 

कोशी अस्पतालका थोत्रा भवन हटाइने 
अस्पताल परिसरमा निर्माण गर्न लागिएको नयाँ भवनको स्केच।  

विराटनगर : विराटनगरस्थित कोशी अस्पतालले पुराना भवन हटाएर नयाँ भवन निर्माणको तयारी गरेको छ। पुराना र जीर्ण भवनका कारण सरसफाइ र सेवाप्रवाहमा समस्या झेलिरहेको अस्पतालले पुराना र जीर्ण भवन हटाएर अत्याधुनिक सुविधा सम्पन्न नयाँ भवन निर्माणको तयारी गरेको हो। 
 

अस्पतालले ल्याब रहेको दक्षिणतर्फको पुरानो भवन भत्काएर अत्याधुनिक सुविधा सम्पन्न भवन निर्माणको तयारी गरेको छ।

अण्डरग्राउण्ड पार्किङसहित ६ तला अग्लो भवन निर्माण गर्ने तयारी थालिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनालाल दासले बताए। उनका अनुसार विराटनगर प्रदेशको राजधानी बनेपछि कोशी अस्पतालमा बिरामीको चाप थप बढ्ने भएकाले अस्पतालको पूर्वाधारमा सुधार जरुरी  छ।

दासले भने, ‘कोशी अस्पतालको पूर्वाधारले अहिले नै  बिरामीको चाप थेग्न नसकिरहेकाले तत्काल पूर्वाधार सुधार नगरे थप समस्या झेल्नुपर्ने हुन्छ।’ 

अस्पतालले दक्षिणतर्फ ६ तलाको भवन निर्माणको योजना बनाएको भए पनि तत्काल एक तला  अण्डरग्राउण्डसहित ४ तलाको मात्रै भवन निर्माण गरिने छ। १४ करोड रूपैयाँभन्दा बढी लगानीमा उक्त भवन निर्माणको तयारी गरिएको छ।

भवन निर्माणका लागि सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले जिम्मेवारी पाएको दासले बताए। अस्पतालले नयाँ भवनमा न्युरोलोजी, कार्डियोलोजी, आइसियु, इमर्जेन्सी लगायतका विशिष्टीकृत सेवाहरू उपलब्ध गराउने योजना बनाएको छ। 

अस्पतालको पूर्वतर्फका प्रसूति, हाडजोर्नीलगायत विभागका भौतिक संरचना पुराना र जीर्ण छन्। पुराना संरचनाका कारण बिरामीलाई राम्रो सेवा दिन नसकिएको डा. दासले बताए। उनले भने, ‘पुराना भवनमा आधुनिक उपचार सेवा सम्भव नै छैन।’ डा. दासले अस्पतालका पुराना भवनहरू क्रमशः हटाउँदै जाने योजना रहेको जानकारी दिए। 

५ सय शैय्याको बनाउने तयारी 

कोशी अस्पताललाई ५ सय शैय्याको अस्पतालमा रूपान्तर गर्नेगरी अस्पतालका संरचना निर्माण गरिने दासले बताए। ‘सरकारले कोशी अस्पताललाई ५ सय बेड (शैय्या)को अस्पतालका रूपमा विकास गर्ने योजना ल्याइसकेको छ,’ दासले भने, ‘यसका लागि आबश्यक पूर्वाधार तयार पार्न जरुरी भइरहेको छ।’ 

पुराना संरचना हटाएर नयाँ र अत्याधुनिक पूर्वाधार निर्माण गरी अस्पतालको स्वरूपमै परिवर्तन ल्याउने अस्पतालको योजना रहेको दासले बताए। उनका अनुसार अस्पतालको दीर्घकालीन विकासका लागि गुरुयोजना निर्माण पनि थालिएको छ। गुरुयोजना निर्माण, संगठन र व्यवस्थापन (ओ एण्ड एम),  सर्भे लगायतका काम पनि थालिएको छ। 

जग्गा विवाद

अस्पतालको दक्षिणतर्फ रहेको जग्गामा नयाँ संरचना निर्माणको तयारी थालिएपछि जग्गा विवाद देखिएको छ। उक्त जग्गा नेपाल क्षयरोग निवारण संस्थाले भोगचलन गरिरहेको छ। क्षयरोग निवारण संस्थाका पदाधिकारी उक्त जग्गा पुरानो वनस्खण्डी मन्दिरको नाममा रहेको दाबी गर्छन्। त्यसकारण उक्त जग्गामा अस्पतालले स्वामित्व दाबी गर्नु उचित नभएको उनीहरूको तर्क छ। 

अस्पतालले क्षयरोग निवारण संस्था, नेपाल रेडक्रस सोसाइटीलगायत विभिन्न सरकारी कार्यालयहरू रहेका जग्गालाई आफ्नो स्वामित्व रहेको दाबी गरिरहेको छ। तर, ती संस्थाहरूले वर्षाैंदेखि जग्गा भोगचलन गरिरहेको भन्दै नछाड्ने बताउँदै आएका छन्। 

कात्तिक २३, २०७७ आइतबार १२:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।