बाइडेन बने अमेरिकाको नयाँ राष्ट्रपति  

बाइडेन बने अमेरिकाको नयाँ राष्ट्रपति  
राष्ट्रपति निर्वाचित भएपछि शनिबार राति डेलावेयरको विलमिंग्टनमा राष्ट्रलाई सम्बोधन गर्दै जो बाइडेन। तस्बिर : गेट्टी इमेज।

काठमाडौं : अमेरिकाको नयाँ राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेन निर्वाचित भएका छन्। 

वर्तमान राष्ट्रपति एवं रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पलाई हराउँदै बाइडेन नयाँ राष्ट्रपति बनेका हुन्। 

बाइडेनले मतगणना जारी रहँदै बहुमत इलेक्ट्रोरल भोट हासिल गरेका छन्। अमेरिकन समाचार संस्थाका अनुसार त्यहाँको ४६ राज्यको मतगणना सकिँदा बाइडेनले २७९ इलेक्ट्रोरल भोट हासिल गरेका छन्। ट्रम्पले भने २१४ भोट मात्रै पाएका छन्। 

अमेरिकामा राष्ट्रपतिका लागि २७० इलेक्ट्रोरल भोट आवश्यक पर्छ। 

लोकप्रिय मतमा पनि बाइडेनकै अग्रता छ। न्युयोर्क टाइम्सका अनुसार आइतबार बिहान ८ बजेसम्म (नेपाली समय अनुसार) अहिलेसम्मको मतगणनामा बाइडेनले ७ करोड ४५ लाख ६१ हजार ९५० मत पाएका छन्। यस्तै, ट्रम्पले ७ करोड ३ लाख ९१ हजार ६६४ भोट पाएका छन्। 

तोड्ने होइन जोड्ने छु : बाइडेन 

राष्ट्रपतिमा निर्वाचित भएपछि बाइडेनले जनतालाई पहिलो पटक सम्बोधन गरेका छन्। उनले आफूलाई जनताले स्पष्ट जनादेश दिएको र यो जित जनताको भएको बताएका छन्।  

उनले भनेका छन्, ‘तपाईंहरूले ममाथि देखाएको भरोसाप्रति म आभारी छु। म यस्तो राष्ट्रपति बन्ने प्रतिवद्धता व्यक्त गर्छु– जो तोड्ने होइन, जोड्नेछ। म रातो रंग र नीलो रंगको राज्य देख्ने छैन, केवल संयुक्त राज्य अमेरिका देख्ने छु। म तपाईंहरूको भरोसा जित्ने मनदेखि नै कोशिश गर्नेछु।’

कमला ह्यारिस पहिलो महिला उपराष्ट्रपति

अमेरिकाको उपराष्ट्रपतिमा कमला ह्यारिस निर्वाचित भएकी छन्। उनी अमेरिकाकी पहिलो महिला उपराष्ट्रपति बनेकी हुन्। 
 

कात्तिक २३, २०७७ आइतबार ०८:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।