ट्राफिक प्रहरीको ‘सांगीतिक डमी अभियान’
काठमाडौं : ट्राफिक प्रहरी महाशाखाले ट्राफिक सचेतनाका लागि ‘सांगीतिक डमी अभियान’ सुरु गरेको छ।
अभियान अन्तर्गत उपत्यकाका मुख्य भिडभाड हुने स्थानमा डमी राखेर विभिन्न कलाकारको आवाजमा सचेतना सामग्री बजाउन थालिएको हो।
महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) रामेश्वरप्रसाद यादवका अनुसार सर्वसाधारण र चालकलाई ट्राफिक नियमबारे जानकारी दिन नयाँ बसपार्क, कोटेश्वर, रत्नपार्क, गौशाला, कलंकी र थानकोटमा यस्ता ‘सांगीतिक डमी’ राखिएका छन्। यस्ता डमीलाई स्टेजमा माइकसहित सांगीतिक प्रस्तुति दिइरहेको झल्को दिनेगरी विभिन्न कलाकारको आवाज सुनाउने गरिन्छ।
‘स्टेजमा माइक समातेर उभिएका डमीका साथमा स्पिकर राखि विभिन्न कलाकारको आवाजमा सचेतनामूलक सामग्री सुनाउने गरिन्छ,’ एसपी यादवले उकेरासँग भने।
यसरी आवाज दिनेमा कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपाश्री निरौला, जितु नेपाल ‘मुन्द्रे’, सरोज वलीसहित आठ ८ जना छन्।
अभियानको शुभारम्भ महाशाखामा आयोजित एक कार्यक्रमबाबीच महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख एवं डिआइजी विश्वराज पोखरेलले गरेका थिए। कार्यक्रमको विशेष अतिथिका रूपमा कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दिपाश्री निरौला, जितु नेपाल ‘मुन्द्रे’ लगाायतको उपस्थिति रहेको महाशाखाले जानकारी दिएको छ।
महाशाखाले अभियानबाट दैनिक १ लाख जनामा ट्राफिक सचेतना पुग्ने विश्वास लिएको छ। महाशाखाले यसअघि सचेतनमूलक कार्ड बोकेका डमीलाई उपत्यकाका विभिन्न स्थानमा राखेको थियो। यसको प्रभावकारिताका आधारमा परिमार्जनसहित ‘सांगीतिक डमी अभियान’ सुरु गरिएको महाशाखाले जनाएको छ।
उपत्यकाका मुख्य चोकमा राखिएका डमीबाट दैनिक २० हजार सर्वसाधारण र चालक सचेत हुने र यसबाट ट्राफिक नियम उल्लंघन र दुर्घटनाका घटनामा कमी आउने महाशाखाको विश्वास छ।
कात्तिक २२, २०७७ शनिबार १४:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।