बैठक बोलाउन ओलीलाई सामूहिक आग्रह गर्ने धुम्बाराही बैठकको निर्णय
काठमाडौं : धुम्बाराहीमा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्यहरुको अनौपचारिक बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई आधिकारिक बैठक बोलाउन सामूहिक आग्रह गर्ने निर्णय गरेको छ।
अध्यक्ष पुष्पकमल दाहालसहित ५ जना सचिवालय सदस्यको अनौपचारिक बैठकले शनिबार सामुहिकरुपमा ओलीलाई भेटेर पार्टीको बैठक बोलाउन आग्रह गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
कार्यकारी अध्यक्ष दाहालले बोलाएको अनौपचारिक बैठकमा प्रचण्डसहित नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठ सहभागी भएका थिए।
प्रधानमन्त्री ओली, सचिवालय सदस्य ईश्वर पोखरेल, सचिवालय रामबहादुर थापा बादल र महाचिव विष्णुप्रसाद पौडेल भने अनुपस्थित थिए ।
प्रवक्ता श्रेष्ठले पार्टी एकता जोगाउन सामूहिक रुपमा भेटेर प्रधानमन्त्रीसँग कुरा गर्ने निष्कर्ष निकालिएको बताए।
बैठकमा नेकपामा देखिएको पछिल्लो विवाद र सरकारका कामकारबाहीबारे पनि छलफल भएको बताइएको छ।
नेकपामा अध्यक्षद्वयबीच विवाद उत्कर्षमा पुगेका प्रचण्डले बोलाएको सचिवालय बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
कात्तिक २१, २०७७ शुक्रबार १७:१०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।