अमेरिकी राष्ट्रपति चुनाव : ६ राज्यमा मतगणना जारी, कहाँ कसको अग्रता ?
काठमाडौं : अमेरिकी राष्ट्रपति चुनावमा वर्तमान राष्ट्रपति एवं रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प दोहोरिन्छन् वा पूर्वउपराष्ट्रपति एवं डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेन विजयी हुन्छन् ? मतगणना जारी रहेका ६ वटा राज्य (स्टेट)को अन्तिम परिणामबाट मात्र निर्धारण हुनेछ।
न्यूयोर्क टाइम्सका अनुसार अमेरिकी राष्ट्रपति चुनावका कूल ५३८ इलेक्ट्रोरल सिटमध्ये बाइडेनले २५३ र ट्रम्पले २१४ सिट जितेका छन्। राष्ट्रपति निर्वाचित हुन २७० सिट आवश्यक हुन्छ।
अहिलेसम्मको परिणामबाट बाइडेन विजयी हुने देखिए पनि मतगणना भइरहेका ६ वटा स्टेटमा कडा प्रतिस्पर्धाका कारण उनी नै निर्वाचित हुन्छन् भन्न सकिने स्थिति छैन।
मतगणना भइरहेका स्टेटमध्ये धेरै सिट भएका पेनसोल्भिना (२०) र नर्थ क्यारोलिना (१५)मा ट्रमको अग्रता छ। जर्जियामा दुवै उम्देवारको बरावरी छ भने अलास्कामा भारी मतका साथ ट्रम्प अगाडि छन्। एरिजोना (११) र नाभडा (६)मा भने बाइडेनको अग्रता छ।
न्यूयोर्क टाइम्सका अनुसार जर्जियामा ९८ प्रतिशत मतगणना सकिँदा दुवैको बराबरी ४९.४ प्रतिशत भोट आएको छ। त्यहाँ १६ सिट छन्।
यस्तै, नर्थ क्यारोलिनामा ट्रम्प अगाडि छन्। त्यहाँ ९५ प्रतिशत मतगणना सकिएकोमा ट्रम्पले ५० प्रतिशत र बाइडेनले ४८.६ प्रतिशत भोट ल्याएका छन्।
पेनसोल्भिनामा ट्रम्प झिनो मतले अगाडि छन्। ट्रम्पले ४९.५ प्रतिशत र बाइडेनले ४९.२ प्रतिशत मत पाएका छन्। यो प्रदेशमा ९५ प्रतिशत मतगणना भएको जनाइएको छ।
३ सिट मात्रै रहेको अलस्कामा ट्रम्प भारी मतान्तरले अगाडि छन्। अहिलेसम्म ५६ प्रतिशत मात्र मतगणना भएको उक्त स्टेटमा ट्रम्पको पक्षमा ६२.९ प्रतिशत मत खसेको छ। बाइडेनले ३३ प्रतिशत मात्र मत पाएका छन् ।
एरिजोना स्टेटमा बाइडेनको अग्रता छ। ११ सिट रहेको यो स्टेटमा वाइडेनले ५०.१ प्रतिशत र ट्रम्पले ४८.५ प्रतिशत मत पाएका छन्। अहिलेसम्म ९० प्रतिशत मतगणना भएको जनाइएको छ।
त्यस्तै, नाभडा स्टेटमा पनि बाइडेनको अग्रता छ। ६ सिट भएको यो स्टेटमा बाइडेनले ४९.४ प्रतिशत र ट्रम्पले ४८.५ प्रतिशत मत पाएका छन्। यो स्टेटमा ८९ प्रतिशत मतगणना भएको छ।
कात्तिक २१, २०७७ शुक्रबार १६:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।