खुलामञ्चको नि:शुल्क खाना ‘घुम्ती सेवा’ मार्फत
काठमाडौं : काठमाडौंको खुलामञ्चमा वितरण गर्दै आइएको निःशुल्क खानालाई आवश्यकताका आधारमा ‘घुम्ती सेवा’ को रुपमा वितरण गरिने भएको छ।
काठमाडौं महानगरपालिका र खाना खुवाउदै आएका विभिन्न संस्थाका प्रतिनिधीबीच शुक्रबार यस्तो सहमति भएको हो।
भाईटिकाको भोलिपल्टबाट बन्द स्थान पहिचान गरेर वा घुम्ती रुपबाट खाना वितरण गरिने सहमति भएको महानगरका निर्देशक हरि वहादुर कुवरले जानकारी दिए।
घुम्ती सेवाको रुपमा आवश्यकताका आधारमा वितरण गरिने वा हात धुने स्थान, शौचालयको व्यवस्था भएको बन्द स्थानको पहिचान गरी खाना खुवाउन समन्वय भएको उनले जानकारी दिए। यसका लागि स्थान भने नछुट्याइएको उनले बताए।
उनले भोको कोही पनि नहुन भन्ने सबैको चाहना रहेकाले आवश्यकताका आधारमा समन्वय गरेर आलोपालो रुपमा खाना वितरण गरिने जानकारी दिए।
दैनिक पाच पटकसम्म खाना बाड्दा श्रम नगरी खानेहरु पनि देखिएको उनले सुनाए।
सम्झौताका क्रममा महानगरपालिकाका तर्फबाट कुवर सहित नगर प्रहरीका प्रतिनिधी र अभियन्ताका तर्फबाट ‘हाम्रो टिम नेपालका विमल पन्त,उमेश बोहरा, १०० प्लस ग्रुपका तर्फबाट अन्सु यादव विवेक ढकाल,हाम्रो सानो प्रयासका सविन कर्माचार्य लगाायतको उपस्थिति रहेको थियो।
महानगरले खाना खुवाउदा फोहोरमैला बढेको भन्दै खुल्लामंचमा खाना नखुवाउन भनेको थियो।
कात्तिक २१, २०७७ शुक्रबार १५:२६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।