दाहालले बोलाए सचिवालय बैठक, ओलीसहित चार जना नजाने

दाहालले बोलाए सचिवालय बैठक, ओलीसहित चार जना नजाने

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले पार्टीको सचिवालय बैठक बोलाएका छन्। दाहालले आज दिउँसो ३ बजेका लागि सचिवालय बैठक बोलाएका हुन्।

 

दाहालका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार बैठक दिउँसो ३ बजे  पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने भएको हो।सापकोटाले सबै सदस्यहरुलाई जानकारी गराइसकिएको बताए। 

पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र दाहालबीच विवाद बढिरहेका बेला आज बोलाइएको सचिवालय बैठकलाई महत्त्वका साथ हेरिएको छ।

दाहालले शुक्रबार बिहान आफ्नो निवास खुमलटारमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङसँग छलफल गरेका थिए। छलफलमा नेम्वाङले विवाद समाधानमा गम्भीर हुनुपर्ने बताएका थिए भने अध्यक्ष दाहालले आफूले विवाद समाधानकै लागि केन्द्रित रहेको प्रतिक्रिया दिएका थिए।  

पार्टीमा देखिएको विवाद समाधानका लागि पार्टी कमिटीको बैठक राख्नुपर्ने दाहालले बताउँदै आएका छन्। तर, त्यसमा प्रधानमन्त्री केपी शर्मा ओली सहमत हुन नसकेकै कारणले समस्या देखिएको हो।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले दाहालले बोलाएको बैठकबारे बालुवाटारलाई जानकारी नभएको बताए।

बैठकमा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा तथा अर्थमन्त्री विष्णु पौडेल नजाने बुझिएको छ। 

कात्तिक २१, २०७७ शुक्रबार १२:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।