अमेरिकन राष्ट्रपति चुनाव : जो बिडेन जितनजिक

अमेरिकन राष्ट्रपति चुनाव : जो बिडेन जितनजिक
अमेरिकाको राष्ट्रपति चुनावका प्रतिस्पर्धी डोनाल्ड ट्रम्प र जो बिडेन (दायाँ)। तस्बिर : गेट्टी इमेज।

काठमाडौं : अमेरिकामा आगामी राष्ट्रपति चयनका लागि भएको चुनावको मतगणना जारी छ। 

रिपब्लिकन पार्टीका उम्मेदवार एवं वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीका उम्मेदवार एवं पूर्वउपराष्ट्रपति जो बिडेनबीच भएको राष्ट्रपति चुनावमा ५० राज्यमध्ये ४३ को मतगणना सकिएको समाचार एजेन्सीले जनाएका छन्।

मतगणना अनुसार बिडेन जितनजिक छन्। अमेरिकी समाचार संस्था ‘दि गार्जियन डट कम’का अनुसार बिहीबार बिहान १० बजेसम्म बिडेनले २६४ इलेक्टोरल भोट पाएका छन्। उनलाई जितका लागि ६ भोट आवश्यक छ। 

बिडेनका प्रतिस्पर्धी ट्रम्पले २१४ भोट मात्रै हासिल गरेका छन्। 

राष्ट्रपति बन्नका लागि २७० इलेक्टोरल भोट आवश्यक पर्छ। यो राष्ट्रपति चुनावमा खसालिने ५३८ इलेक्टोरल भोटको बहुमत हो। 

लोकप्रिय मतमा पनि बिडेनकै अग्रता देखिएको छ। ‘दि गार्जियन डट कम’का अनुसार बिहीबार बिहान १० बजेसम्म उनले ७ करोड २० लाख ८ लाख ८७५ मत पाएका छन्। ट्रम्पलाई भने ६ करोड ८५ लाख ६८ हजार ११६ मत मिलेको छ।

मतगणनाप्रति ट्रम्पले उठाए प्रश्न 

राष्ट्रपति ट्रम्पले मतगणनाप्रति प्रश्न उठाएका छन्। उनले राति मतगणना गरेकाले यसबारे आफू आशंकित भएको बताएका छन्। 

भारतीय समाचार एजेन्सी दैनिक भास्कर डट कमका अनुसार ट्रम्पले भनेका छन्, ‘रातिमा मतगणना गर्नुको तुक के हो? यसबारे हामी सुप्रिम कोर्ट जान्छौं। मेरो हिसाबमा त हामी चुनाव जितिसकेका छौं।’ 

कात्तिक २०, २०७७ बिहीबार ११:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।