बहुमुल्य नागमणिको प्रलोभन देखाएर ठगी
बाँके : नागमणि दिने प्रलोभनमा पारी १ करोड ८९ लाख ५० हजार रुपैयाँ ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा दैलेख नौमुले गाउँपालिका–४ घर भएका ३५ वर्षीय धन बहादुर रोका, सल्यान कुमाख गाउँपालिका–५ घर भएका ३१ वर्षीय कृष्ण शाह र सल्यान शारदा नगरपालिका–९ घर भएका ३० वर्षीय डिल्ली बहादुर बोहरा रहेका छन्।
जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई ठगी गरेको ४० लाख रुपैयाँसहित नेपालगञ्ज उपमहानगरपालिका–१ बाट पक्राउ गरेको हो ।
अनुसन्धानको क्रममा उनीहरूले दाङ घोराही उपमहानगरपालिका–१७ बस्ने माधव प्रसाद घिमिरेलाई हामीसँग बहुमुल्य नागमणि छ, उक्त नागमणि आफुसाथ राख्दा यसको धार्मिक महत्व हुनुका साथै व्यापार व्यवसाय राम्रो हुन्छ, घरमा लक्ष्मीको बास हुन्छ, परिवारका सदस्यको आयु लामो हुन्छ, घर परिवारमा सुःखशान्ति, सम्बृद्धि हुन्छ भनि ललाई फकाई प्रलोभनमा पारी ठगी गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
यस सम्बन्धमा थप अनुसन्धान भईरहेको बाँके प्रहरीले जनाएको छ।
कात्तिक १९, २०७७ बुधबार १५:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।