मैले राजीनामा दिए देश बर्बादीतर्फ धकेलिन्छ : ओली

मैले राजीनामा दिए देश बर्बादीतर्फ धकेलिन्छ : ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले राजीनामा दिए देश बर्बादीतर्फ धकेलिने दाबी गरेका छन्।

चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गतको मनमोहन सेन्टर एनेक्स भवनको बुधबार उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले कुनै पनि परिस्थितिमा आफूले राजीनामा नदिने बताएका हुन्।

‘तपाईंहरू विचार गर्नुस् के अहिले मैले राजीनामा दिन हुन्छ ? राजीनामा दिन मिल्छ ? मेरो लागि होइन, देशको लागि मैले राजीनामा दिनु भनेको देशलाई बर्बादितिर जान दिनु हो,’ उनले भने, ‘त्यसकारण म राजीनामा दिनेवाला छैन। त्यो मैले दोहोर्याएर भनेको छु, फेरि केहीले खोई राजीनामा भनेर मागिराखेका छन्। बेकारको कुरा हो भन्ने सोच्छु।’

पछिल्लो समय पार्टीबाट राजीनामा दिन दबाब सिर्जना भएको अवस्थामा प्रधानमन्त्री ओलीले देशका लागि भए पनि राजीनामा नदिने स्पष्ट पारे।

आफ्नो रहरले भन्दा पनि जनताको आवश्यकता र समर्थनले प्रधानमन्त्री बनेको भन्दै ओलीले कुनै पनि जालझेल तथा तिकडमबाट नभई व्यापक जनसमर्थनबाट प्रधानमन्त्री बनेकाले सरकार फेरिन्छ की भन्ने दुविधामा नपर्नसमेत आग्रह गरे।

‘म यस ठाउँमा आएको मेरा रहरले होइन, जनताको आवश्यकता र समर्थनले हो। यहाँ पुगेको म जालझेल तिकडमबाट होइन। यहाँ पुगेको व्यापक जनसमर्थनबाट हो। त्यसकारण तपाईंहरू ढुक्क भएर काममा लाग्नुस्,’ उनले भने, ‘यो सरकार फेरिन्छ की भनेर धेरैले धेरैपल्ट धेरै प्रकारका कोसिसहरू गरे। भित्र, बाहिर अनेक थरिका कोसिसहरू भए। जेमा पनि आलोचना गर्ने प्रवृतिहरू छन्, त्यसबाट प्रभावित नहोऔं।’

एकथरी व्यक्तिहरू देशमा अस्थिरता निम्त्याउन लागिरहेको समेत उनको दाबी छ। 

कात्तिक १९, २०७७ बुधबार १५:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।