गौतमबुद्ध विमानस्थलको उपकरण जडान ठप्प
भैरहवा : विमानस्थल सञ्चालनका लागि अत्यावश्क उपकरण जडान गर्ने दक्ष प्राविधिक नहुँदा करिब आठ महिनादेखि भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उपकरण जडान ठप्प भएको छ।
कोरोना भाइरस (कोभिड-१९) संक्रमणको कहरले बाह्य मुलुकबाट जनशक्ति आउन सकेका छैनन्, जसले गर्दा विमानस्थलमा उपकरण आइपुग्दासमेत काम अघि बढेको छैन।
‘विमानस्थलमा करिब १० किसिमका उपकरण जडान गर्नुपर्छ। यसका लागि नेपालमा जनशक्ति उपलब्ध छैन। सबै बाह्य मुलुकबाट ल्याउनुपर्छ। जनशक्ति नआएकै कारण उपकरण जडानको काम हुन नसकेको हो,’ आयोजना प्रमुख प्रवेश अधिकारीले भने।
लामो समयसम्म विमानस्थलका लागि आवश्यक उपकरण नै ल्याउन सकिएन। अहिले करिब ९८ प्रतिशत उपकरण विमानस्थलमा ल्याइसकिएको छ। तर, उपकरण जडान गर्ने दक्ष प्राविधिक नआउँदा राष्ट्रिय गौरवको यो आयोजनाको काम नै प्रभावित भएको छ।
धावनमार्गमा जडान गरिने लाइट, सेन्ट्रल एसी, सञ्चार उपकरण, फर्ड लाइट, एक्सरे मेसिन, मौसम पूर्वानुमान उपकरण, सिसिटिभी क्यामेरा, उडान जानकारी डिस्प्ले, कन्भेयर बेल्ट लगायतका उपकरण जडान गर्न बाह्य मुलुकबाट जनशक्ति ल्याउनुपर्छ। यसका लागि चीन, थाइल्याण्ड, अमेरिका, अस्ट्रियासहित तेस्रो मुलुकबाट दक्ष प्राविधिक ल्याउनु पर्ने भए पनि नेपालमा कोरोना संक्रमण बढिरहेको भन्दै आउन हच्किएका छन्।

‘जनशक्ति ल्याउन नेपाल सरकारले अनुमति दिइसकेको छ। कतिपय चिनियाँले त भिसा पाइसकेका पनि छन्,’ आयोजना प्रमुख अधिकारीले भने, ‘कोरोनाका डरले सम्बन्धित देशले पनि आफ्ना नागरिक पठाउन नखोजेका हुनसक्छन्। प्राविधिकहरू नआउनुको मुख्य कारण भनेकै कोरोनाको त्रास नै हो।’
उपकरण जडान गर्न विभिन्न मुलुकबाट ६५ भन्दा बढी जनशक्ति आउनै बाँकी छ। योसँगै एक्सरे मेसिन, एप्रोनमा राख्ने फर्ड लाइटहरू र अन्य महत्त्वपूर्ण उपकरणहरू अझै चीनबाट ल्याउनु पर्ने छ।
‘रसुवागढी नाकामा उपकरण आएको पनि महिनौं भयो। तर, भन्सार पास अझै भएको छैन,’ उनले भने।
चार महिनासम्म भएको लकडाउनमा पनि विमानस्थल निर्माण रोकिएको थिएन। तर, प्राविधिक नआउँदा अहिले काम प्रभावित भइरहेको छ। नयाँ वर्ष सन् २०२० मनाउन चीन पुगेका दक्ष जनशक्ति कोरोनाका कारण काममा अझै फर्कन सकेका छैनन्। निर्माणको काम चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनले गरेकाले दक्ष जनशक्ति प्रायः उतैका छन्।
.jpg)
विमानस्थलमा अहिले टायल बिछ्याउने, कन्ट्रोल टावर, टर्मिनल भवनमा फिनिसिङ र उपकरण जडान, विद्युतीकरण, भवनहरू फिनिसिङको काम अन्तिम चरणमा पुगेको छ। यस्तै, धावन मार्गमा मार्किङको सकिएको छ भने लाइटिङको फाउन्डेसन तयार गरी लाइट जडानको तयारी भइरहेको छ। फायर भवनको फिनिसिङको काम सकिएको छ भने जहाज र ट्याक्सी पार्किङ स्थलको सिभिलतर्फको काम सकिएर विद्युतीकरण सुरु भएको छ।
आयोजना प्रमुख अधिकारीका अनुसार धावन मार्गको वरपर पेरिमिटर सडक निर्माण सुरु भइसकेको छ। कोरोना कहरबीच पनि विमानस्थल निर्माणको काम तीव्ररूपमा भइरहेको छ। यद्यपि दक्ष जनशक्ति र केही महत्त्वपूर्ण उपकरण ल्याउनै मुस्किल परिरहेको छ। यसले आयोजना अन्तिमपटक थपिएको म्यादमा पनि निर्माण सम्पन्न नहुने निश्चित भएको छ।
पाँचौपल्ट म्याद थप गरि आयोजना सम्पन्न मिति सन् २०२० डिसेम्बरसम्म पुर्याइएको थियो। तर, अन्य कामसँगै दक्ष प्राविधिक आउनै बाँकी छ। तत्कालै दक्ष प्राविधिक आए पनि उपकरण जडानमै तीन महिना समय लाग्छ। जसले गर्दा आयोजना झनै पछि धकेलिने पक्कापक्की भएको छ।
‘केही समय म्याद थप गरेर पनि आयोजना सम्पन्न भएरै छाड्छ। हामीसँग अरु विकल्पै छैन,’ अधिकारीले भने।
विमानस्थलको आइसिबी १ अन्तर्गत पूर्वाधार निर्माणको काम ६ अर्ब २२ करोडमा चिनियाँ ठेकेदार कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनले अन्तिम चरणमा पुर्याएको छ। तर, आइसिबी २ अन्तर्गत उपकरण जडानको काम भने हुन सकेको छैन। करिब ५० करोडमा उपकरण जडानको ठेक्का थाइल्याण्डको एरो थाई कम्पनीले लिएको छ।
विमानस्थलको अहिलेसम्म ९३ प्रतिशत काम सम्पन्न भएको छ। भौतिक निर्माणको काम लगभग सकिएको छ भने फिनिसिङ र विद्युतीकरणको काम जारी छ।
आयोजना ३१ डिसेम्बर २०१४ मा सुरु भएको थियो।
कात्तिक १९, २०७७ बुधबार १३:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।