कैलाली प्रहरी हत्या प्रकरण : पक्राउ परे मटरका मालिक

कैलाली प्रहरी हत्या प्रकरण : पक्राउ परे मटरका मालिक

धनगढी : धनगढीमा दुई जना प्रहरीको हत्याकाण्डसँग जोडिएको मटर (केराउ) तस्करीमा संलग्न भएको आरोपमा एक व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा धनगढीका व्यापारी राजिव गुप्ता छन्। जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) दिलिप देउवाले मटर तस्करीमा गुप्ताको संलग्नता देखिएकाले अनुसन्धानका लागि पक्राउ गरिएको जानकारी दिए।

घटनाको राति जुगेडा क्षेत्रबाट तस्करी भएको सामान गुप्ताको भएको खुलेपछि उनलाई पक्राउ गरिएको देउवाले बताए।

‘प्रारम्भिक अनुसन्धानका क्रममा तस्करी गरिएको मटर गुप्ताको हो भन्ने खुलेकाले मंगलबार पक्राउ गरेर अनुसन्धान थालिएको छ,’ देउवाले भने, ‘अदालतबाट म्याद थपसमेत भइसकेको छ।’

भारतीय सीमावर्ति बजार गौरीफन्टा हटेपछि गुप्ताले धनगढी–९, घुइयाघाटमा किराना स्टोर सञ्चालन गर्दै आएको खुलेको छ। उनी केही वर्षदेखि मटर भारत तस्करीमा संलग्न रहेको खुलेको छ।

नेपालमा मटरको मूल्य सस्तो हुँदा भारततर्फ तस्करी हुने गरेको छ। नेपालमा मटर अनुदानमा पाइने गरेको छ। ।

मटर तस्करी रोक्ने क्रममा कात्तिक १ गते राति अस्थायी प्रहरी पोष्ट, जुगेडाका इञ्चार्ज एवं प्रहरी सहायक निरीक्षक (असई) गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदको विभत्स हत्या गरिएको थियो। दुवैको शव मोहना नदीमा फेला परेको थियो। 

हत्यामा संलग्न रहेको आरोपमा ८ जना पक्राउ परेका छन्। आरोपी एक जना अझै फरार रहेको प्रहरीले जनाएको छ। 

कात्तिक १९, २०७७ बुधबार १३:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।