भारतीय सेनाध्यक्ष काठमाडौंमा, सुरक्षा व्यवस्था कडा
काठमाडौं : नेपाली भूमि लिम्पियाधुरा भारतको भन्ने अभिव्यक्ति दिने भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवाणे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका छन्।
विमानस्थलमा नरवाणेको स्वागतका लागि नेपाली सेनाको दोस्रो वरीयताका बलाधिकृत रथी प्रभुराम शर्मासहितका सैन्य अधिकृतहरु पुगेका छन्। विशेष सुरक्षा व्यवस्थाका साथ उनलाई सोल्टी होटलमा लगिनेछ।
उनी काठमाडौं ओर्लिन लाग्दा सुरक्षा व्यवस्था कडा पारिएको छ। नेपाली भूमि भारतको भन्ने अभिव्यक्तिले नेपालमा आलोचित बनेका नरवाणेको विरोध हुनसक्ने देखेर प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको हो।
नरवाणेको विरोध हुनसक्ने सम्भावित स्थान र व्यक्तिमाथि प्रहरीले निगरानी बढाएको छ। विरोध गर्न सक्ने केही मानिसलाई प्रहरीले नियन्त्रणमा समेत लिएको जनाएको छ। नरवाणेलाई कालो झण्डा देखाएर विरोध गर्ने अभिव्यक्ति दिने युट्युबरको बीचमा चर्चित पुण्य गौतमलाई प्रहरीले मंगलबार नै नियन्त्रणमा लिएको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्याम ज्ञवालीले कालो झण्डा देखाएर विरोध गर्ने अभिव्यक्ति दिएपछि गौतमलाई नियन्त्रणमा लिएको जानकारी दिए।
‘विरोध हुन सक्ने स्थान र व्यक्तिमाथि प्रहरीले निगरानी बढाएको छ’ ज्ञावालीले भने,‘सुरक्षा व्यवस्था कडा गर्ने काम प्रहरीको हो।’
यस्तो छ नरवाणेको भ्रमण तालिका
नरवाणे भर्खरै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिएका छन्। उनी विमानस्थलबाट सिधैं सोल्टी होटेल पुग्नेछन्। तीन दिनसम्म उनी सोल्टीमा नै बस्ने कार्यक्रम रहेको छ। उनी पत्नीसहित काठमाडौं आउन लागेका हुन्।
नरवाणे प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा नेपाली सेनाको मानार्थ महारथी दर्जा ग्रहण गर्न आउन लागेका हुन्।
नेपाली सेना र भारतीय सेनाबीच एकाअर्का देशका सैनिक प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्परा छ।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट जनरल नरवाणेलाई बिहीवार अपराह्न सेनाको मानार्थ महारथी दर्जा प्रदान गरिने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। सोही अवसरमा राष्ट्रपतिसँग उनले शिष्टाचार भेट समेत गर्नेछन्।
नेपाली सेनाले नरवाणेको भ्रमणको मुख्य उद्देश्य परम्पराको निरन्तरता भने पनि नेपालका कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रका भूभाग भारतले राजनीतिक नक्शामा समेटेपछि उत्पन्न द्विपक्षीय सम्बन्ध सुदृढ तुल्याउन महत्वपूर्ण सावित हुने अपेक्षा गरिएको छ।
नेपाल आउनुअघि एक विज्ञप्ति जारी गर्दै नरवाणेले नेपाल आउन लाग्दा खुशी महसुस भएको भन्दै आफ्नो भ्रमणबाट दुई देशबीचको मित्रता अझै बलियो हुने विश्वास व्यक्त गरेका छन्।
नरवाणेले बिहीवार बिहान सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम समेत रहेको छ।
त्यसलगत्तै सैनिक मुख्यालय जङ्गीअड्डामा उनले सैनिक गारत निरीक्षण गर्नेछन्। सोही दिन प्रधानसेनापति थापाले समकक्षी नरवाणेसँग औपचारिक भेटवार्ता गर्नेछन्।
दुई देशबीचको सुरक्षा सहयोगसँग सम्बन्धित तेह्रौं बैठकमा भएको सहमतिअनुरुप नरवाणेले नेपाली सेनालाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्ने कार्यक्रम छ। नरवाणेको सम्मानमा बिहीबार नै जङ्गीअड्डामा रात्रिभोज आयोजना हुनेछ।
नरवाणेले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शुक्रबार औपचारिक भेट गर्ने तय भएको छ। चार सदस्यीय नरवणे नेतृत्वको टोली शुक्रबार स्वदेश फर्कने जनाइएको छ।
कात्तिक १९, २०७७ बुधबार ११:५०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।