संसद भवनलाई चिटिक्क बनाउन मन्त्री श्रेष्ठको निर्देशन
काठमाडौं : सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले संसद अधिवेशनअघि व्यवस्थापिका संसद भवनलाई चिटिक्क बनाउन निर्देशन दिएका छन्।
सहरी विकास मन्त्रालयको कार्यभार सम्हालेपछि व्यवस्थापिका संसद भवन निरीक्षण गर्न गएका मन्त्री श्रेष्ठले भवनको सरसफाइ र सौन्दर्य कायम गर्नका लागि कन्जुस्याइ नगर्न निर्देशन दिएका हुन्। उनले भवनको सबै पक्ष चुस्त र दुरुस्त राख्नसमेत निर्देशन दिए।
मन्त्रालयअन्तर्गत रहेको सो भवनमा २०६५ सालदेखि संसद भवनको रुपमा प्रयोग हुँदै आएको छ। मन्त्री श्रेष्ठले भवनमा रहेको लाइट र साउण्ड सिष्टमलाई व्यवस्थित गर्न निर्देशन दिए।
उनले भने, ‘माननीय सांसदज्यूहरु बस्ने कुर्सीको अवस्था कस्तो छ ? बगैचामा फूल फुलेका छन् कि छैनन् ? हेर्नुस्, नभए सिजन अनुसारको फूल फूलाउनुस्, हरियाली देखिएको छैन। त्यसलाई तुरुन्त हरियाली बनाउनुस्।’
उनले सांसद भवनमा रहेको प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाको कार्यकक्षसमेत निरीक्षण गरेका थिए।
सिंहदरबारमा निर्माणाधिन संसद भवन तयार नभएसम्म सोही भवनमा संसद अधिवेशन हुनेछ।
विकास समितिका अध्यक्ष एवं सहरी विकास मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहले सिंहदरबारमा संसद भवन निर्माण भएपछि सो केन्द्रलाई कसरी व्यावसायिक रुपमा सञ्चालन गर्ने भन्ने विषयमा कार्ययोजना तयार गर्न निर्देशन दिए।
उनले भने, ‘हाल देखिएका केही समस्यालाई तत्काल समाधन गरि संसद चल्नुअघि भवनलाई दुरुस्त बनाउनुस्, आवश्यक सहयोग मन्त्रालयले गर्नेछ।’
केन्द्रका कार्यकारी निर्देशक विद्रोह दाहालले एक सय ५३ क्षेत्रफलमा रहेको सो भवनभित्र ८ वटा हलमा करिब दुई हजार क्षमता रहेको, करिब ४ सय सवारी पार्किङ गर्न मिल्ने पार्किङ स्थल रहेको बताएका थिए।
कात्तिक १८, २०७७ मंगलबार १८:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।