पर्ख र हेरको रणनीतिमा प्रचण्ड पक्ष

पर्ख र हेरको रणनीतिमा प्रचण्ड पक्ष

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षको सोमबार बसेको भेलाले पर्ख र हेरको रणनीति अवलम्बन गर्ने निष्कर्ष निकालेको छ। 

दाहाल निवास खुमलटारमा बसेको पूर्वमाओवादीका नेताहरूको बैठकले तत्कालै पार्टी फुटाएर जाने अवस्था नभएकाले पर्ख र हेरको अवस्थामा रहनु पर्ने निष्कर्ष निकालेको हो।

पार्टी एकता प्रकृया गम्भीर संकटमा परेपछि प्रचण्डले आफू पक्षीय नेताहरूसँग भेटघाट गरेका थिए। 

प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष दाहाललाई पार्टी अलगअलग गरौ भनेपछि दाहालले आफू निकटका स्थायी समिति सदस्यहरूलाई काठमाडौं बोलाएरै छलफल गरे पनि तत्कालै पार्टी फुटाएर जाने अवस्था नभएको निष्कर्ष निकालेको एक नेताले बताए।

‘तत्काल पार्टी फुटाएर जाने अवस्था नभएकाले पर्ख र हेरको अवस्थामा रहनुपर्ने सुझाव धेरै नेताहरूबाट आयो,’ छलफलमा सहभागी एक नेताले भने।

कर्णालीमा मुख्यमन्त्रीविरुद्ध आफ्नै दलका नेताले अविश्वास प्रस्ताव दर्ता गरेपछि सुरु भएको नेकपाको पछिल्लो विवाद फुटको संघारमा पुगेको छ। 

यसअघि ओलीले पार्टी फुटाउने प्रस्ताव शनिबार अर्का अध्यक्ष दाहालसँग गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले खुलासा गरेका थिए।

ओलीको उक्त प्रस्तावपछि नेकपाका शीर्ष नेताहरूले पार्टीको आन्तरिक समीकरणमा आ–आफ्ना तयारी थालेका छन्। 

विवाद उत्पन्न भएपछि त्यसलाई दुई अध्यक्ष ओली र दाहाल तथा वरिष्ठ नेता माधवकुमार नेपालले आफ्ना निकट नेताहरूसँगको छलफललाई तीव्रता दिएर तयारी थालेका हुन्। 

पार्टीको विवाद उत्कर्षमा पुगेपछि ओली निकट र कार्यकारी अध्यक्ष प्रचण्ड निकट नेताहरूले छुट्टाछुट्टै भेला बैठक र बहस सुरु गरेका छन्। 

नेपाल पक्षीय नेताहरू पनि आपसमा छलफल गरिरहेका छन्। आइतबार र सोमबार ओली पक्षका नेताहरूले दुई चरणमा आफ्नो समूहमा आन्तरिक छलफल गरेका थिए। 

उनीहरुले अबको दिनमा पार्टीभित्रको विवादमा क-कसको कमजोरी के हो भन्नेबारेमा छलफल गरेको भेलामा सहभागी एक नेताले जानकारी दिए। 

उनका अनुसार पूर्व एमालेहरूको समीकरणलाई भत्काउने प्रयास भएकाले अहिलेको समस्या आएको निष्कर्ष निकाल्दै पूर्वएमालेहरू जुटाउने काममा लाग्नुपर्ने उनीहरूको निष्कर्ष छ।

नेपाल समूहले भने आफ्नो समूहभित्र शक्ति आर्जन हुँदै गएकाले दुवैतिरबाट लाभ लिन खोजिरहेको छ। 

उनीहरुले ओली र प्रचण्डको व्यवहारलाई परीक्षणमा राख्नु पर्ने र ओली केही नरम भए ओलीसँगै मिलेर जाने नभए प्रचण्डलाई अघि सारेर ओलीको दम्भलाई चुनौति दिने गरी तयारी गरिरहेका छन्। 

उनीहरूले कर्णाली प्रदेशमा जस्तै प्रदेश १ र बागमती प्रदेशमा पनि अविश्वासको प्रस्ताव ल्याएर ओली समूहलाई धक्का दिनेगरी अघि बढ्ने तयारी गरेको स्रोतको दाबी छ।

कात्तिक १८, २०७७ मंगलबार १२:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।