सांसद केसीको निधनपछि कांग्रेस पदाधिकारी बैठक स्थगित
काठमाडौं : प्रतिनिधि सभा सांसद सूर्यबहादुर केसीको निधन पछि नेपाली कांग्रेस केन्द्रीय पदाधिकारीको आज बस्ने भनिएको बैठक स्थगित भएको छ।
कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्यसमेत रहेका केसीको निधनका कारण आज बस्ने भनिएको पदाधिकारी बैठक स्थगित भएको सहमहामन्त्री डा प्रकाशसरण महतले जानकारी दिए।
नेपाली कांग्रेसले केसीको निधनमा केन्द्रीय कार्यालय एकदिन बन्द गर्ने र तीनदिन पार्टीको झन्डा झुकाउने जनाइएको छ।
हिमश्री फुड्सका अध्यक्ष केसीकै अगुवाइमा नेपालमै मात्र नभएर दक्षिण एसियामै पहिलो चाउचाउ उत्पादन सुरु भएको थियो।
रारा चाउचाउ दक्षिण एसियाकै पहिलो मानिन्छ । त्यसको केही महिनापछिमात्र भारतमा म्यागी चाउचाउको उत्पादन सुरु भएको थियो।
निर्माण व्यवसायीका रुपमा व्यावसायिक जीवन थालेका केसी परिवारको जलविद्युत, बैंकिङ, खाद्य क्षेत्रमा लगानी छ ।
सुगर, प्रेसरको समस्या र चिसोको असरलेसमेत ६३ वर्षीय केसीको निधन भएको हुन सक्ने पारिवारिक स्रोतले जानकारी दिएको छ।
उनको घर पोखरा हो। समानुपातिक कोटामा उनी सांसद बनेका हुन्।
पार्टीभित्र देखिएको विवाद समाधान गर्न भन्दै सोमबार पदाधिकारी बैठक बसेको थियो। हिजोको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बुझाएको विरोधपत्रमा छलफल भए पनि ठोस सहमति भने कुनै हुन सकेको थिएन्।
यस्तै केसीको निधनपछि कांग्रेसले आकस्मिक केन्द्रीय समिति बैठक बोलाएको छ।
दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्न लागेको हो।
आज बस्ने केन्द्रीय समिति बैठकले शोक प्रस्ताव पारित गर्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
कात्तिक १८, २०७७ मंगलबार ११:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।