निःशुल्क खानामा महानगरको रोक 

निःशुल्क खानामा महानगरको रोक 
सोमबार खुल्लामंचमा खाना खान लाइनमा बसेकाहरु। तस्विर : प्रतिक रायमाझी

काठमाडौं : काठमाडौं महानगरपालिकाले खुलामञ्चमा खाना खुवाउन रोक लगाएको छ। सार्वजनिक क्षेत्रमा खाना खुवाउँदा सुरक्षामापदण्ड पालना नगरेको तथा फोहोर व्यवस्थापन नगरेको भन्दै महानगरपालिकाले खाना वितरण गर्न रोक लगाएको हो।

‘हामीले सुरक्षा मापदण्डसहित खाना खुवाउँदा पनि महानगरले किन हामीलाई  रोक लगाईरहेको छ बुझ्न सकिरहेको छैन,’ खुलामंचमा खाना खुवाउँदै आएका बद्रिप्रसाद ढुंगानाले भने, ‘हामीले खान नपाएकालाई खान दिएका हौं। राज्यले गर्नु पर्ने काम हामीले गर्दा महानगरलाई के समस्या भयो ?’ 

महानगरले अभियन्ताहरुमाथि अन्याय गरेको ढुंगानाले बताए। पटक पटक नगर प्रहरी आएर खाना नखुवाउन भनेको उनले सुनाए। 

गएको सोमबार नगर प्रहरीले पहिलो पटक आदेश दिएको हो।

‘आज पनि १० जना नगर प्रहरी आएर खाना नखुवाउन भन्नु भएको छ,’ ढुंगानाले भने,‘दिउँसो २ बजे खाना खुवाए पनि भोलिदेखि के गर्ने भन्नेमा अन्यौल छ।’ 

काठमाडौं महानगरको नगर प्रहरी प्रमुख धनपति सापकोटाले फोहोरमैला बढेकाले सार्वजनिक स्थलमा खाना खुवाउन रोक लगाइएको बताए। 

सापकोटाले माथिको आदेश भन्दै खाना खुवाउन रोक लगाएको सुनाए। ‘हामीलाई पनि माथिको आदेश हो। हामीले आफ्नो काम गरेका हौैं,’ ढुंगानाले भने।

महानगरपालिकाले पनि सार्वजनिक स्थलको साटो पाटी प्यालेस लगायतका स्थानमा खाना खुवाउन भनेको छ। 

कोरोना महामारीका कारण सरकारले गरेको लकडाउनले दैनिक ज्याला मजदुरी गरेर खानेहरुलाई छाक टार्न समस्या हुँदा विभिन्न संस्थाका तथा व्यक्तिहरुले खुलामञ्चमा निःशुल्क खाना खुवाउँदै आइरहेका छन्।

कात्तिक १७, २०७७ सोमबार १८:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।