विदेशमा एक हप्तामा एक हजार नेपाली संक्रमित

विदेशमा एक हप्तामा एक हजार नेपाली  संक्रमित

काठमाडौं : कोरोना भाइरसको विश्वव्यापी दोस्रो छाल सुरु भएपछि विदेशमा रहेका नेपालीहरुमा थप कोरोना संक्रमण देखिएको छ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता विदेशमा रहेका थप ९ सय ६३ जना नेपालीहरुलाई कोरोना संक्रमण देखिएको हो। संक्रमति मध्ये ४ सय ५० जना रोमानियामा रहेका नेपालीहरु छन्।

एनआरएनएको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार यो साता रोमानिया, पोल्याण्ड, स्पेन, कतार, भारत, क्यानाडा र युकेमा रहेका नेपाली कोरोना भाइरसबाट संक्रमण भएका हुन्।

अहिलेसम्म ४२ देशमा रहेका नेपाली मध्ये ४३ हजार ५ सय ६९ जना नेपाली कोरोना भाइरसको संक्रमणमा परेका छन्।

ती मध्ये ३९ हजार ५ सय ६५ जना अर्थात ९२ प्रतिशत नेपाली कोरोना मुक्त भएको स्वास्थ्य समितिले जनाएको छ । त्यस्तै अहिलेसम्म १९ देशका २ सय ८४ जना नेपालीको कोरोना संक्रमणबाट निधन भइसकेको संघले जनाएको छ।

गैरआवासीय नेपाली संघले अति आवश्यकबाहेक अन्य कामको लागि यात्रा नगर्न सबैलाई आग्रह गरेको छ। कोरानो भाइरसको विश्वव्यापी संक्रमणको कारण बेलायत, फ्रान्स, बेल्जियम र जर्मनीमा दोस्रो चरणको लकडाउन सुरु भएको अवस्थामा अतिआवश्यक बाहेक अन्य प्रयोजनको लागि यात्रा तय नगर्न संघले आव्हान गरेको हो।

संघ अन्तरर्गतको स्वास्थ्य समितिका संयोजक डा.सापकोटाले सार्वजनिक कार्यक्रममा उपस्थित नहुन र अनावश्यक भेला समेत नगर्न आग्रह गरेका छन्।

स्वास्थ्य समितिले सार्वजनिक स्थलहरुमा निस्किदा मानिसहरुलाई सके सम्म माक्सको प्रयोग गर्न, हात धुन, मुख नछुन, नाक नकोट्याउन  र अनिवार्य रुपमा माक्स प्रयोग गर्न अनुरोध गरेको छ।

 

कात्तिक १७, २०७७ सोमबार १६:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।