रोजगारी गुमेपछि दसैंमा घर फर्कने श्रमिक बढे

रोजगारी गुमेपछि दसैंमा घर फर्कने श्रमिक बढे
फाइल तस्बिर।

काठमाडौं : सरकारी तथ्यांक अनुसार सामान्य अवस्थामा विदेशबाट फर्कने नेपालीको संख्या दैनिक आठ सयभन्दा बढी छ। दसैंमा यो संख्या अझै कम देखिन्छ। तर, यो दसैंमा स्वदेश फर्कनेको संख्या बढेको छ।

कोभिड १९ संकट व्यवस्थापन समिति (सिसिएमसी)का अनुसार दसैं अवधिभर (कात्तिक ८ देखि १५सम्म) दैनिक औसतरूपमा हजारभन्दा बढी श्रमिक स्वदेश फर्किएका छन्। उक्त अवधिमा सात वटा श्रम गन्तव्यबाट आठ हजार २७७ नेपाली श्रमिक स्वदेश फर्किएको सिसिएमसीले जनाएको छ। 

कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण विदेशमा रहेका श्रमिकले रोजगारी गुमाएपछि स्वदेश फर्कनेको संख्या अघिल्लो वर्षको तुलनामा बढेको जानकार बताउँछन्। 

समाजशास्त्री एवं रोजगारविज्ञ डा. गणेश गुरुङले कोरोना संक्रमणका कारण रोजगारी गुमाएकाहरू धमाधम घर फर्किरहेको बताए। ‘यो वर्ष दसैं–तिहार मनाउन भन्दा पनि बाध्यताले घर फर्कने धेरै छन्,’ उनले भने। 

विजयादशमीको दिन युएईबाट स्वदेश फर्किएका झापाका देव घिमिरेले रोजगारी गुमेपछि घर फर्किएको बताए। ‘रोजगारी गुमेपछि घर फर्कन खोज्दा हवाई टिकट पाइएन। युएईमा दुई महिना त्यतिकै कुर्नुपर्याे,’ उनले दुखेसो पोखे। 

कोरोना संक्रमणका कारण विभिन्न देशमा लकडाउन गरिएपछि रोजगारी गुमाएका श्रमिक स्वदेश आउन सकेका थिएनन्। त्यसको केही समयपछि (जेठ २३) सरकारले विदेशमा फसेका नेपालीलाई स्वदेश फर्काउन उद्दार उडान गरेको थियो।  

सिसिएमसीका अनुसार सरकारले उद्दार उडान गरे (जेठ २३)यता शनिबारसम्म १ लाख २६ हजार ९८९ जना विदेशबाट फर्किएका छन्। तीमध्ये श्रम गन्तव्यबाट फर्कने श्रमिकको संख्या १ लाख १६ हजार १९९ छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम गन्तव्यबाट तत्काल उद्दार गरी स्वदेश फर्कन चाहने नेपालीको संख्या १ लाख ५० हजारभन्दा बढी रहेको आँकलन गरेको थियो। यस आधारमा अझै ३४ हजार श्रमिकले फर्कन चाहेका छन्। 

स्वदेश फर्किएकाबाहेक विदेशमा रोजगारी र व्यवसाय गुमाएका नेपालीको संख्या चार लाखभन्दा बढी रहेको सरकारी अध्ययनले नै देखाएको छ। 

सिसिएमसीका अनुसार असार १ गतेबाट विभिन्न श्रम गन्तव्यबाट दैनिक हजार नेपाली स्वदेश फर्किरहेका छन्। तीमध्ये कतार, साउदी अरब, युएई, मलेसिया, कुबेत लगायतका देशबाट स्वदेश फर्किनेको संख्या बढिरहेको छ। 

हालसम्म कतारबाट २४ हजार १४५, साउदी अरबबाट १७ हजार ४८७, युएईबाट ३७ हजार ११८, मलेसियाबाट १८ हजार ६२ र कुबेतबाट १० हजार १२० श्रमिक फर्किएका छन्। यसरी फर्कनेमध्ये गैरश्रमिक न्यून छन्। यो अवधिमा नेपाल फर्कने गैरश्रमिकको संख्या १० हजारको हाराहारीमा रहेको देखिन्छ।

सरकारले असार १ गतेबाट श्रम गन्तव्यलक्षित हवाई उडान सुचारु गरेको हो। सरकारले लकडाउनपछि अन्तर्राष्ट्रिय हवाई उडान स्थगित गरेको थियो। 

कात्तिक १७, २०७७ सोमबार १४:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।