कान्ति बाल अस्पताललाई महानगरको पिसिआर 

कान्ति बाल अस्पताललाई महानगरको पिसिआर 

काठमाडौं  : काठमाडौँ महानगरपालिकाले कान्ति बाल अस्पताललाई एक थान पिसिआर मेसिन हस्तान्तरण गरेको छ। 
 

काठमाडौं महानगरपालिकासँग भगिनी सम्वन्ध स्थापित चीनको नानजिङ सहरले दिएका दुई मध्ये एक थान पिसिआर मेसिन कान्ति बाल अस्पताललाई सोमबार हस्तान्तरण गरेको हो।

महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र अस्पतालका निर्देशक डाक्टर कृष्ण पौडेलले सम्झौतापत्रमा हस्ताक्षर गरी सो मेसिन हस्तान्तरण गरिएको हो। 

करिव १६ लाख पर्ने सो मेसिन हस्तान्तरणपछि महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले जति सक्दो छिटो मेसिन जडान गरी सेवा सुरु गर्न अस्पताललाई आग्रह गरे।

‘सेवा कसले दिने भन्दा पनि सबैले मिलेर सेवा दिनुपर्छ भन्ने मान्यताका साथ हामीले यस्ता अत्यावश्यक सामग्री विरामीको बढी चाप रहेका अस्पतालहरुलाई हस्तान्तरण गर्दै आएका छौं’ शाक्यले भने,‘यो तेस्रो चरणको हस्तान्तरण कार्यक्रम हो।’ 

काठमाडौं महानगरपालिकाले यसअघि थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा कोरोना (‘कोभिड–१९) को परीक्षणका लागि पीसीआर मेसिनसहितका अत्यावश्यक सामग्री हस्तान्तरण गरेको थियो।

कार्यक्रममा कान्ति बालका निर्देशक डाक्टर पौडेलले महामारी विरुद्धको लडाईँ लडिरहेका बेला महानगरपालिकाले गरेको सहयोग निकै महत्वपूर्ण भएको बताए।

पौडेलले दैनिक २० देखि ३० वटा परीक्षणका लागि नमूना अन्य ल्याबमा पठाउनु पर्ने बाध्यता अब हट्ने बताए।

कात्तिक १७, २०७७ सोमबार १३:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।