प्रचण्ड निवासमा पूर्वमाओवादीहरूको भेला 

प्रचण्ड निवासमा पूर्वमाओवादीहरूको भेला 

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विवाद उत्कर्षमा पुगेपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा पूर्वमाओवादीका नेताहरू भेला भएका छन्। 

एकता प्रकृया गम्भीर संकटमा परेपछि प्रचण्डले आफू पक्षीय नेताहरूसँगको भेटघाटलाई तिव्रता दिएका छन्।

खुमलटार स्रोतका अनुसार अहिले उनीहरू छलफलमा व्यस्त रहेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले दाहाललाई पार्टी अलग अलग गरौं भनेपछि उनले आफू निकटका स्थायी समिति सदस्यहरूलाई काठमाडौं बोलाएका थिए।

दाहालले पूर्वमाओवादी कोटामा स्थायी समिति सदस्य भएका सबै नेताहरूलाई परामर्शका लागि काठमाडौ बोलाएर अहिले छलफल थालेका हुन्। 

कर्णालीमा मुख्यमन्त्रीविरुद्ध आफ्नै दलका नेताले अविश्वास प्रस्ताव दर्ता गरेपछि सुरु भएको नेकपाको पछिल्लो विवाद फुटको संघारमा पुगेको छ। 

ओलीले दाहालसँग पार्टी फुटाउने प्रस्ताव गरेको शनिबार प्रवक्ता नारायणकाजी श्रेष्ठले खुलासा गरेका थिए। 

यता नेकपाभित्रको आन्तरिक विवाद चुलिएपछि सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापाले विवाद मिलाउन बालुबाटार–खुमलटार दौडधुप सुरु गरेका थिए। 

आइतबार साँझ उनले विवाद सुल्झाउने प्रयास गरेका छन्। उनले दुवै अध्यक्षलाई भेटेर दुई वटा समूह बनाएर पार्टी अलग गराउने विषयमा छलफल नगर्न आग्रह गरेका छन्। 

आइतबार साँझ दुवै अध्यक्षलाई भेटेर उनले चार वटा प्रस्ताव राख्दै वालुवाटार र खुमलटारमा गुटको भेला नगर्न र पार्टी फुटाउने हल्ला नगर्न आग्रह गरेका हुन्। आइतबार साँझ वालुवाटार र खुमलटार पुगेर उनले दुवै अध्यक्षलाई चार वटा प्रस्ताव राखेका छन्। 

स्थायी कमिटी बैठकको निर्णय अक्षरस पालाना गर्नुपर्ने, दुवै अध्यक्षले गुटगत भेला रोक्नु पर्ने, स्थायी कमिटीको निर्णय पालाना गर्ने भन्दा उल्लंघन गर्ने परिपाटी रोक्नु पर्ने, निर्णय कार्यान्वयनमा दुवै अध्यक्षको दायित्व पूरा गर्नु तथा सचिवालय बैठक, स्थायी कमिटी र केन्द्रीय कमिटी जस्ता बैठकबाट विवाद निरुपण गर्नु प्रस्ताव राखेका छन्। 

आइतबार बिहान खुमलटार भेलामा पुगेका गृहमन्त्री थापाले त्यहाँ पनि पार्टी एकताको पक्षमा आफ्नो धारणा राखेका थिए। 

उनले पार्टी एकतालाई बचाएर लैजानु पर्ने भन्दै शीर्ष नेताहरुलाई संयम अपनाएर जान आग्रह गरेका थिए। 

कात्तिक १७, २०७७ सोमबार १२:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।