प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीविरुद्ध अवहेलना मुद्दा
काठमाडौं : अदालतको आदेश अवज्ञा गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्यमन्त्री भानुभक्त ढकालविरुद्ध अवहेलना मुद्दा दिइएको छ।
अधिवक्ताद्वय लोकेन्द्रबहादुर ओली र केशरजंग केसीले प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीविरुद्ध आइतबार सर्वोच्च अदालतमा अवेहलना मुद्दा दिएका हुन्।
अदालतको आदेशको अवज्ञा गर्दै सरकारले कोरोना परीक्षण र उपचारमा बेवास्ता गरेको भन्दै अवहेलना मुद्दा दिइएको अधिवक्ता केसीले जानकारी दिए।
यसअघि ओली र केसीले नै कोरोना भाइरसको परीक्षण र उपचार निःशुल्क हुनुपर्ने माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए।
उक्त रिटमा सर्वोच्चले असोज २७ गते फैसलागर्दै सरकारका नाममा परमादेश जारी गरेको थियो।
कानुनमा अदालतको अवहेलना मुद्दामा एक वर्ष कैद र १० हजार जरिवाना हुने व्यवस्था भए बम्मोजिम दुवै सजाय हुनुपर्ने माग दाबीसहित मुद्दा दायर गरिएको केसीले बताए।
सरकारले अदालतको आदेशको पालना गर्नुको साटो उल्टै कोरोना संक्रमितको उपचार निःशुल्क गर्न नसक्ने निर्णय गरेको थियो।
सरकारको उक्त निर्णयको चौतर्फी विरोध भएपछि केही परिमार्जन गरेर विपन्न र कमजोर आर्थिक अवस्था भएका नागरिकको उपचार निःशुल्क गरिने स्पष्ट पारेको थियो।
सरकारको निर्णयपछि अहिले देशैभरका अस्पतालले धमाधम उपचारका लागि भर्ना हुनुपूर्व धरौटी रकम बुझाउनुपर्ने निर्णय गर्न थालेका छन्।
सरकारको उक्त निर्णयले कोरोना संक्रमितहरुले उपचारमा निकै सास्ती भोग्नु परेको छ।
कात्तिक १६, २०७७ आइतबार १७:०९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।