बागमतीको कालमोचन घाट क्षेत्र पुनःनिर्माणमा समस्या

बागमतीको कालमोचन घाट क्षेत्र पुनःनिर्माणमा समस्या
थापाथलीस्थित बागमती नदी किनार क्षेत्रमा बनाइएको घर।

काठमाडौं : बागमती नदी किनार सुधार परियोजनाअन्तर्गत थापाथली कालमोचन घाट क्षेत्र पुनःनिर्माणमा समस्या देखिएको छ।

थापाथली नदी किनार क्षेत्रमा बनाइएको दुई तले घर र दुई पैसा जग्गामा व्यक्तिले स्वामित्व दाबी गरेपछि पुनःनिर्माणमा समस्या देखिएको वडा नम्बर ११ का अध्यक्ष हीरालाल तण्डुकारले बताए।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले बागमती नदी किनार सुधार परियोजना सञ्चालन गरेको हो।

समस्या समाधान गर्न भन्दै आइतबार वडाअध्यक्ष हीरालाल तण्डुकार, गुठी संस्थानका उपप्रशासक सरोज थपलिया, पुरातात्त्व विभागका पुरातात्त्व अधिकृत मञ्जुसिंह भण्डारी, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका इञ्जिनियर असिम अधिकारी र परामर्शदाता सहितको टोलीले स्थलगत अवलोकन गरेका छन्। 

अवलोकनबाट संरचना व्यक्तिको हुने कुनै आधार नदेखिएको वडाध्यक्ष तण्डुकारले बताए।

‘थापाथली पुल बनाउँदा पुलको आकर्षण बढाउन बनाइएको स्तम्भको जगमा घर बनाइएको देखिन्छ। त्यो स्तम्भमा सिंहका मूर्ति राखिएको हुनुपर्छ। स्तम्भ कहिले भत्कियो र किन सम्भार गरिएन भन्नेचाहिँ खोजीको विषय हो,’ तण्डुकार भन्छन्, ‘संरचना हटाउनका लागि वडाबाट गर्नु पर्ने आवश्यक समन्वय र सहयोग गर्छौं।’  

गुठी संस्थानका उपप्रशासक थपलियाका अनुसार १८८ नम्बरको एउटै कित्तामा २९ रोपनी जग्गा छ। त्यहाँ बैरागी र सन्यासीलगायतका अखडा छन्। त्यसमध्येको २ पैसा जग्गामा बनेको घरसहित व्यक्तिले लालपूर्जा लिएर स्वामित्व दाबी गरेको छ।

मालपोत ऐन दफा २४ बमोजिम दर्ता बदर गरेर गुठीको श्रेस्तामा देखिए गुठीको नाममा र स्रेस्तामा नदेखिए सार्वजनिक जग्गाका रूपमा कायम गराउने प्रक्रियामा जानुपर्ने उनको भनाइ छ। 

‘हामी गुठीको जग्गा भन्छौं। व्यक्तिले लालपूर्जा लिएर स्वामित्व दाबी गर्नुहुन्छ,’ गुठी संस्थान शाखा कार्यालयका प्रमुख हरिप्रसाद सुवेदी भन्छन्, ‘व्यक्तिमा स्वामित्व कसरी पुग्यो। खोजी गरिरहेका छौं।’ 

पुरातात्त्व अधिकृत मञ्जुसिंह भण्डारी सम्पदा क्षेत्र भएकाले व्यक्तिगत सम्पत्ति हुन नसक्ने भन्दै आवश्यक उत्खनन गरेर अध्ययन गर्न सकिने बताउँछन्। 

थापाथलीदेखि टेकु दोभानसम्म एसियन विकास बैंकको सहयोगमा ३ चरणमा नदी सुधार परियोजना सञ्चालन भइरहेको छ। पहिलो चरणमा १२ वटा सम्पदा पुनःनिर्माणसहितको काम करिब सम्पन्न हुने अवस्थामा पुगेको छ। दोस्रो चरणको काम थालिएको छ। तेस्रो चरणमा ११ वटा सम्पदा पुनःनिर्माण हुनेछन्।

पुरातात्त्व अधिकृत भण्डारीका अनुसार तेस्रो चरणमा थापाथली कालमोचन क्षेत्रका बैरागी अखडा, सन्यासी अखडासहितका ४ वटा सम्पदा पुनःनिर्माण भइरहेका छन्।

कात्तिक १६, २०७७ आइतबार १६:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।