कोरोना संक्रमणबाट सशस्त्रका सईको निधन
काठमाडौं : कोरोना भाइरसको संक्रमणबाट सशस्त्र प्रहरी बल, नेपालका एक जना प्रहरी नायब निरीक्षक (सई) को निधन भएको छ।
सई नगेन्द्र खड्काको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचारको क्रममा निधन भएको सशस्त्र प्रहरी बलले जनाएको छ।
सशस्त्र प्रहरीका प्रवक्ता राजु अर्यालले आईसीयूबाट वार्डमा सारिएको दिन खड्काको निधन भएको जानकारी दिए।
अर्यालका अनुसार खड्का प्रेसर र सुगर रोगका बिरामी थिए। दैलेख घर भएका सई खड्का अर्घाखाँची गुल्ममा कार्यरत थिए।
कोरोना संक्रमण देखिएपछि खड्कालाई उपचारको लागि लुम्बिनी अस्पताल बुटवलमा लगिएको थियो। उनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि असोज २० गते सशस्त्र प्रहरी अस्पताल बलम्बु ल्याइएको अर्यालले जानकारी दिए।
सशस्त्र प्रहरी बलमा खड्कासहित कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या तीन पुगेको छ।
अर्यालका अनुसार हाल सम्म १ हजार ७ सय जनामा कोरोना संक्रमण देखिएकोमा ३ सय ३ जना अझैँ सक्रिय संक्रमित छन्।
कात्तिक १६, २०७७ आइतबार १३:०८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।