पूर्व राज्यमन्त्रीसहित ५४ जुवाडे पक्राउ
काठमाडौं : प्रहरीले जुवा खेलिराखेको अवस्थामा एकैदिन देशका बिभन्न स्थानबाट पूर्व राज्यमन्त्रीसहित ५४ जनालाई पक्राउ गरको छ।
काठमाडौं, ललितपुर, तनुहँ, दाङ र मोरङबाट ५४ जनालाई नियन्त्रणमा लिएको हो। योसँगै करिव २६ लाख बढी रुपैयाँसमेत बरामद गरेको प्रहरीले जनाएको छ।
प्रहरीले जुवा खेलिरहेको अवस्थामा काठमाडौंको स्वयम्भूबाट पूर्वराज्यमन्त्री खोभारी रायसहित १० जनालाई पक्राउ गरेको छ।
महानगरीय प्रहरी वृत्त स्वयम्भुको टोलीले विजेश्वरीको एक घरबाट उनीहरुलाई पक्राउ गरेको वृत प्रमुख डिएसपी निरञ्जन दत्त भट्टले जानकारी दिए।
भट्टका अनुसार उनीहरुको साथबाट १ लाख ५३ हजार रुपैयाँ नगद पनि बरामद भएको छ।
जुवाको खालबाट पक्राउ परेका खोभारी राय २०६४ सालमा सर्लाही क्षेत्र नम्बर ५ बाट सांसद निर्वाचित भएका थिए।
२०५२ सालमा शेरबहादुर देउवाको पालामा, २०५३ सालमा लोकेन्द्रबहादुर चन्दको पालामा र २०६८ सालमा डा बाबुराम भट्टराईको पाला गरी उनी हाल सम्म तीन पटक राज्य मन्त्री भैसकेका छन्।
विवादित छविका यादब २०७४ सालमा तत्कालीन नेकपा माओवादी केन्द्रमा प्रवेश गरेपछि राजनीतिमा सक्रिय छैनन्।
पक्राउ परेकाहरुलाई जुवातास ऐन अन्तर्गत कारबाहीका लागि जिल्ला अदालतमा म्याद थप गर्न पठाइएको भट्टले जानकारी दिए।
यस्तै प्रहरीले ललितपुरको महालक्ष्मी नगरपालिका–७ चाङ्गाथलीबाट १८ जना जुवाडे पक्राउ गरेको छ।
स्थानीय एक व्यक्तिको दुई तले घरबाट तास खेलिरहेको अवस्थामा शनिबार राति प्रहरीले पक्राउ गरेको हो।
उनीहरुको साथबाट ११ लाख ५५ हजार ५ सय ७५ नगदसहित जुवातास खेल्न प्रयोग गरेको १६ थान कौडा पनि बरामद गरेको महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रहरी नायब उपरीक्षक मित्रबन्धु शर्माले जानकारी दिए।
पक्राउ पर्नेलाई जुवातास ऐनअन्तर्गत कारबाही हुने प्रहरीले जनाएको छ।
प्रहरीले तनहुँको भानु नगरपालिका–१० चोकमैदान हानहटियाबाट कौडा खेल्ने १६ जनालाई पक्राउ परेका छन्।
कौडा खेलिरहेको गोप्य सूचनाको आधारमा प्रहरीले १६ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा स्थानीय अर्जुन उप्रेती, रामबहादुर परियार, सुनिल तामाङ, रमेश लौडारी, कमल तामाङ, शिवजी श्रेष्ठ, रामकुमार श्रेष्ठ, भरत लौडारी, मखनकुमार श्रेष्ठ, सञ्जय श्रेष्ठ, हेमराज लौडारी, सूर्यकुमार श्रेष्ठ, शङ्कर पाण्डे, शिव पन्त, उद्धव उप्रेती, गजेन्द्र लौडारी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए। प्रहरीले जुवा खालबाट ४८ हजार २ सय ७० रुपैयाँ बरामद गरेको छ।
यस्तै दाङको घोराहीबाट प्रहरीले साढे ३ लाख रकमसहित ५ जुवाडेलाई पक्राउ गरेको छ।
घोराहीको मसिनाबाट गए राति घोराही १० का २६ वर्षीय अनिलकुमार थापा, घोराही १० कै २७ वर्षीय कमल रावत, घोराही १५ का २७ वर्षीय बसन्त भण्डारी, घोराही १० कै २६ वर्षीय केशब डाँगी, घोराही १५ का २६ वर्षीय धर्म ज्ञवाली रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक महेन्द्र सेनले जानकारी दिए।
उनीहरूको साथबाट आठ लाख बराबर रकम उल्लेख गरिएको वैंक चेक र तमसुक पनि बरामद गरिएको प्रहरीले जनाएको छ।
यस्तै प्रहरीले मोरङको केराबारीबाट आठ लाख ८९ हजारसहित ५ जनालाई जुवा तास खेलिरहेको अवस्थामा पक्राउ गरेको छ।
कात्तिक १६, २०७७ आइतबार १२:०४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।