तिलोत्तमामा धानको समर्थन मूल्य तोकियो
भैरहवा : रूपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेका साना किसान कृषि सहकारी संस्थाहरूले सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा किसानको धान खरिद गर्ने भएका छन्।
नगरपालिकाको सहजीकरणमा सहकारीहरू किसानको धान संघीय सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा खरिद गर्न तयार भएका हुन्। संघीय सरकारले गत जेठमै धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरे पनि त्यो कार्यान्वयन भएको थिएन।
तिलोत्तमा नगरपालिकाले कार्यान्वयनमा सहजीकरण गरेको नगर प्रमुख बासुदेव घिमिरेले जानकारी दिए ।
संघीय सरकारले गत जेठ २ गते चालु आर्थिक वर्षका लागि मोटा धानको प्रतिक्विन्टल २ हजार ७ सय ३५ रूपैयाँ र मध्यम धानको प्रतिक्विन्टल २ हजार ८ सय ८५ रूपैयाँ न्यूनतम समर्थन मूल्य तोकेको थियो। साना किसान सहकारीमार्फत धान खरिद गर्ने गरि कृषि तथा पशुपंछी विकास मन्त्रालयले निर्देशिकासमेत जारी गरिसके पनि यस क्षेत्रका सहकारीले किसानको धान तोकिएको न्यूनतम समर्थन मूल्यमा खरिद गरेका थिएनन्।
नगरपालिकाले बोलाएको बैठकपछि तिलोत्तमाका ६ वटा साना किसान कृषि सहकारीहरू किसानको धान खरिद गर्ने आवश्यक तयारीमा जुट्न सहमत भएका हुन्। नगरपालिकाले सहकारीसँग नगर क्षेत्रमा धान उत्पादनको अवस्था, भण्डारण क्षमता, आर्थिक व्यवस्थापन लगायतका विषयमा छलफल गरेको थियो।
छलफलपछि सहकारीका पदाधिकारीहरू नगरका वास्तविक किसानले उत्पादन गरेको मापदण्ड अनुसारको धान तोकिएका स्थानमा खरिद गर्न तयार भएका हुन्। यो निर्णयसँगै सहकारीले आवश्यक तयारी गरी किसानको धान तोकिएको मूल्यमा खरिद गर्न थाल्नेछन्।
किसानको धान खरिद गरेर भुक्तानी दिएको प्रमाण अनुसार सरकारले सहकारीलाई प्रतिक्विन्टल ११२ रूपैयाँ अनुदान रकम उपलब्ध गराउने छ। कृषि मन्त्रालयले धानको न्यूनतम समर्थन मूल्यमा धान खरिद र व्यवस्थापन गर्नेसम्बन्धी निर्देशिका पारित गर्दै सहकारीलाई प्रतिक्विन्टल ११२ रूपैयाँ अनुदान दिने व्यवस्था गरेको हो।
धानको न्यूनतम समर्थन मूल्य प्रभावकारी हुँदा बिचौलियाका कारण किसानलाई हुने घाटा रोकिने नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले जनाइन्। नगरपालिकाले न्यूनतम समर्थन मूल्यमा धान बिक्री गरेर लाभ उठाउन किसान र व्यवसायीलाई समेत सरकारी दररेट अनुसार खरिद गर्न निर्देश गरेको छ।
सहकारीले १८ प्रतिशत चिस्यान भएको धानलार्ई न्यूनतम समर्थन मूल्यमा खरिद गर्नेछन्। त्यसभन्दा बढी चिस्यान भए किसानलाई तोकिएको मापदण्ड पूरा गर्न वा एक प्रतिशत चिस्यानको १२ सय ग्राम तौल घटाएर मूल्य निर्धारण गर्न सक्नेछन्।
न्यूनतम समर्थन मूल्यको प्रभावकारी कार्यान्वयन हुँदा किसानलाई ठूलो लाभ पुग्ने र कृषिमा सहकारीको भूमिका स्थापित हुँदै जाने नगरपालिकाको भनाइ छ।
कृषि अर्थतन्त्रमा सहकारीको भूमिका बढाउँदै लैजाने र भविष्यमा मल, बीउ, गोदाम, कोल्डस्टोर, नर्सरी, उत्पादन लगायत सबै क्षेत्रमा सहकारीको नेतृत्व स्थापित गर्ने सरकारको योजना छ। हाल तिलोत्तमामा टिकुलीगढ, गंगोलिया, करहिया, मधवलिया, शंकरनगर, आनन्दवन साना किसान सहकारी संस्था छन्।
कात्तिक १६, २०७७ आइतबार ०३:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।