‘बञ्चरे डाँडामा मंसिर १५ अघि फोहोर व्यवस्थापन गर्न मिल्ने बनाउनू’ 

‘बञ्चरे डाँडामा मंसिर १५ अघि फोहोर व्यवस्थापन गर्न मिल्ने बनाउनू’ 

काठमाडौं : सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले एक महिनामा बञ्चरे डाँडा ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापन गर्न मिल्ने गरि काम सक्न निर्माण कम्पनीका प्रतिनिधिलाई निर्देशन दिएका छन्।
 
 

बञ्चरे डाँडा ल्याण्डफिल साइटको निरीक्षणमा गएका मन्त्री श्रेष्ठले मंसिर १५ अघि बञ्चरे डाँडामा फोहोर व्यवस्थापन गर्न मिल्ने गरि काम सक्न निर्देशन दिएका हुन्। 

निर्माण कम्पनी लुम्बिनी–कोशी एण्ड न्यौपाने जेभीका प्रतिनिधि डम्बरबहादुर न्यौपानेले मंसिर १ गतेबाट फोहोर विर्सजन गर्न मिल्ने गरि काम भइरहेकोबारे मन्त्री श्रेष्ठलाई जानकारी गराएका थिए।

न्यौपानेले प्रगति विवरणबारे जानकारी दिएपछि मन्त्री श्रेष्ठले भने, ‘तपाईले धेरै पटक भाका फेरिसक्नुभएको छ, अब मंसिर १५ गतेबाट फोहोर विसर्जन गर्न मिल्ने गरि तयारी गर्नुस्।’  

बञ्चरे डाँडामा काठमाडौ र ललितपुर महानगरसहित उपत्यकाको १८ स्थानीय तहको फोहोर व्यवस्थापन हुनेछ। 

प्रधानमन्त्री केपी शर्मा ओलीले समेत केही दिनमै फोहोर विसर्जन गर्न मिल्ने गरि ल्याण्डफिल साइट निर्माण गर्न निर्देशन दिएपछि मन्त्री श्रेष्ठ त्यसको निर्माण प्रगतिबारे जानकारी लिन बञ्चरे डाँडा पुगेका हुन्। 

मन्त्रीसँगै मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंह, सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलाल, उपमहानिर्देशक प्रद्मकुमार मैनाली सहितको टोली निरीक्षणमा गएको थियो। 

मन्त्री श्रेष्ठले उपत्यका र आसपासका नगरलाई सुन्दर बनाउन व्यवस्थित फोहोर व्यवस्थापन अपरिहार्य रहेको उल्लेख गर्दै त्यसको लागि तत्काल बञ्चरे डाँडा ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापन गर्नुको विकल्प नभएको बताए। सरकारको महत्त्वपूर्ण आयोजनाको रुपमा रहेको उक्त ल्याण्डफिल साइटमा करिब सय वर्षसम्म फोहोर व्यवस्थापन गर्न मिल्ने बताइएको छ।  

सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक गेलालले फोहोर वर्गीकरण नगरि विसर्जन गर्दा २५ र वर्गीकरण गर्दा करिब सय वर्षसम्म ढुक्कसँग फोहोर व्यवस्थापन गर्न सकिने जानकारी दिए। सरकारले विभागलाई ल्याण्डफिल साइटमा आवश्यक पर्ने भौतिक संरचना निर्माण गर्न जिम्मा दिएको थियो । 

मन्त्री श्रेष्ठलाई ल्याण्डफिल साइटको पछिल्लो अवस्थाबारे ब्रिफिङ गर्दै महानिर्देशक गेलालले ल्याण्डफिल जाने बाटोको निर्माण, डाँडा काट्ने, ड्याम निर्माण, रातोमाटो बिच्छ्याउने, ग्याबिङ पर्खाल निर्माण, दुईवटा भवन निर्माण सम्पन्न भइसकेको जानकारी गराए। 

यसअघि सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले पनि बञ्चरे डाँडा ल्याण्डफिल साइटको प्रगतिबारे जानकारी लिएका थिए। 

बञ्चरे डाँडामा पहिलो र दोस्रो चरणको निर्माण अन्तिम चरणमा पुगेको बताइएको छ।  

विभागले हालसम्म ल्याण्डफिल साइट निर्माणमा करिब ४० करोड रुपैयाँ खर्च गरिसकेको छ। पहिलो चरणमा ३४ करोड ६८ लाख ७४ हजार र दोस्रो चरणको लागि ४६ करोड ५ लाख ९४ हजार रुपैयाँको ठेक्का सम्झौता भएको छ। 

पहिलो चरणको निर्माण ठेक्का लुम्बिनी–कोशी एण्ड न्यौपाने जेभीले पाएको छ। उसको सम्झौता अवधि यही कातिक २२ गतेसम्म छ। दोस्रो चरणको निर्माण ठेक्का कालिका कन्ट्रक्सनले पाएको छ। उसको सम्झौता अवधि आगामी जेठ १९ सम्म छ। 

ठेकेदार कम्पनीले कोभिड–१९ संक्रमण, निर्माण सामग्री आपूर्तिमा कठिनाइ, सिसडोलमा फोहोरको पहिरो तथा कोल्पुखोलामा वर्षातमा बाढीले निर्माण प्रभावित भएको जनाएको छ।  

काठमाडौं महानगरपालिकालगायत क्षेत्रको फोहोर सिसडोल ल्याण्डफिल साइटमा विसर्जन भइरहेको छ। त्यहाँ १३ वर्षदेखि फोहोर विसर्जन भइरहेको छ। सिसडोलमा दैनिक १ हजार १ सय मेट्रिक टन फोहोर विसर्जन हुने गरेको छ, त्यसमध्ये काठमाडौं महानगरपालिकाको करिब ७ सय मेट्रिक टन छ। 

२०६२ सालमा सिसडोल ल्याण्डफिल साइट तयार भएलगत्तै बञ्चरे डाँडामा ल्याण्डफिल साइट निर्माणका लागि १ हजार ७ सय ९२ रोपनी जग्गा अधिग्रहण गरिएको थियो। 

उपत्यकाको फोहोर व्यवस्थापन गर्न जापानिज सहयोग नियोग (जाइका)ले सन् २००२ मा सिसडोल ल्याण्डफिल साइट हस्तान्तरण गरेपछि  बञ्चरे डाँडा दीर्घकालीन ल्याण्डफिल साइटको ‘कन्सेप्चुयल डिजाइन’ तयार गरिएको थियो। त्यतिबेला बञ्चरे डाँडा ल्याण्डफिल साइट निर्माणमा १ अर्ब ८६ करोड लाग्ने अनुमान गरिएको थियो।

कात्तिक १५, २०७७ शनिबार १६:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।