कञ्चनपुरमा तीन जनाको शव भेटियो

कञ्चनपुरमा तीन जनाको शव भेटियो
सांकेतिक तस्बिर।

कञ्चनपुर : कञ्चनपुरको कृष्णपुर नगरपालिका–४, मालुमेलास्थित जंगलमा आज बिहान दुई जनाको शव भेटिएको छ।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका अनुसार जंगलमा कैलालीको गोदावरी नगरपालिका–११ का १५ वर्षीय टेकबहादुर कोली र १६ वर्षीय सीता साउदको शव भेटिएको हो।

दुवै जना गत असोज २८ गतेदेखि परिवारको सम्पर्कबाहिर रहेको र आज बिहान जंगलमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए। ‘दुवै जना २८ गतेदेखि परिवारको सम्पर्कबाहिर रहेको बुझिन आएको छ,’ प्रवक्ता थापाले भने, ‘घटनास्थलनजिकै सल्फास नामक विषादीको बट्टा पनि भेटिएको छ।’ 

घटनाको विस्तृत अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय, झलारी र कृष्णपुरको गुलरीया प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलमा खटिएको छ। प्रहरीले कोलीको शव सडिसकेको अवस्थामा भेटिएको जनाएको छ।

त्यसैगरी, कञ्चनपुरको महाकाली नदीमा आज बिहान भीमदत्त नगरपालिका–६ का २३ वर्षीय सरोज चौधरीको शव भेटिएको छ। गत मंगलबार साथीहरूसँग दोधारा चाँदनी झोलुंगे पुल घुम्न गएका बेला नुहाउने क्रममा चौधरी बेपत्ता भएका थिए।

प्रहरी प्रवक्ता थापाका अनुसार झोलुंग पुलबाट करिब दुई सय मिटर दक्षिण चौधरीको शव भेटिएको हो। बेपत्तापछि प्रहरी र स्थानीयवासी खोजीमा जुटे पनि चौधरीको अवस्था पत्ता लगाउन सकेका थिएनन्। आज बिहान भने नदीमा माछा मार्ने क्रममा शव भेटिएको हो। प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरेर शव आफन्तको जिम्मा लगाउने जनाएको छ।

कात्तिक १५, २०७७ शनिबार १३:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।