कोरोना संक्रमितको जीवन रक्षाका लागि ‘प्लाज्मा दान’ गर्न आग्रह

कोरोना संक्रमितको जीवन रक्षाका लागि ‘प्लाज्मा दान’ गर्न आग्रह

काठमाडौं : काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण गम्भीर बिरामीको प्लाज्मा थेरापीमार्फत जीवन बचाउन सहयोगका लागि ‘प्लाज्मा दान’ गर्न आग्रह गरेका छन्। 

केही समयअघि कोरोनामुक्त भइ स्वस्थ जीवनमा फर्केका शाक्यले कोरोनाका गम्भीर बिरामीको ज्यान बचाउन आफू प्लाज्मा दान दिन तयार रहेको भन्दै अरुलाई पनि यसमा सहयोग गर्न अपिल गरेका हुन्।

‘‘मलाई कोरोना संक्रमण भएको केही दिनपछि पत्नी र छोरीलाई पनि पोजेटिभ देखियो। अहिले हामी सबै स्वस्थ जीवनमा फर्किएका छौं,’ शाक्यले भने,  ‘छोरी पलिस्था शाक्यले हिजो मात्रै कान्तिपुर अस्पताल तीनकुनेमा पुगेर ‘प्लाज्मा दान’ गरेकी छन्।’ 

प्लाज्मा दान गर्दै काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यकी छोरी पलिस्था शाक्य।

कोरोनाका कारण गम्भीर बिरामी भएकाहरूको जीवन बचाउन प्लाज्मा थेरापीले उपचारमा ठूलो सहयोग मिल्ने र संक्रमणमुक्त भइसकेकाहरूलाई ‘प्लाज्मा दान’ गर्न पनि प्रोत्साहन होस भन्ने उद्देश्यले परिवारबाटै प्जाज्मा दिन सुरुवात गरेको शाक्यले जानकारी दिए। 
 
पलिस्था शाक्यले दान गरेको प्लाज्माबाट कोभिड र निमोनियाका कारण बिरामी भइ ओम नर्सिङ होममा उपचार गराइरहेकी काठमाडौं महानगरपालिका–४ की ७६ वर्षीया महिलाको उपचार भइरहेको छ। 

‘काठमाडौँ उपत्यकाका र महानगरपालिका पछिल्लो समय कोरोनाको हटस्पट बनिरहेको छ। यस्तो बेलामा संक्रमणपछि स्वस्थ जीवनमा फर्किनुभएका र स्वस्थ मानिसलाई प्जाज्मा दान गर्ने हो भने धेरैको ज्यान बचाउन सकिन्छ,’ शाक्यले भने, ‘कोरोना संक्रमित भनेर कसैले कसैलाई दुर्व्यवहार नगर्न पनि आग्रह गर्छ। संक्रमितले सबैको प्रोत्साहन पाए भने सबैभन्दा ठूलो औषधी त्यही हुन्छ।’ 

उनले अहिले काठमाडौं महानगरपालिकाका विभिन्न वडामार्फत संक्रमितलाई प्रोत्साहन दिन फलफूल, मास्क, आयुर्वेदिक औषधी लगायतका सामग्री लिएर जनप्रतिनिधि होमआइसोलेसन र आइसोलेसनमामा पुग्ने गरेको जानकारी दिए।

कात्तिक १५, २०७७ शनिबार ११:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।