कब्रिस्थान तालाबन्दीले दाहसंस्कार रोकियो 

कब्रिस्थान तालाबन्दीले दाहसंस्कार रोकियो 

काठमाडौं : कैलालीको धनगढीस्थित कब्रिस्थान (मुस्लिम समुदायको अन्तिम सस्कार गर्ने स्थल)मा तालाबन्दी गरिएपछि दाहसंस्कार रोकिएको छ। 

कोरोना भाइरस (कोभिड-१९) संक्रमित महिलाको शव गाडिएको भन्दै स्थानीयले कब्रिस्थानमा तालाबन्दी गरिएपछि आज मृत्यु भएका एक जनाको दाहसंस्कार हुन सकेको छैन।

कब्रिस्थानमा बिहीबार धनगढी–२, की ५७ वर्षीया कोरोना संक्रमित महिलाको शव गाडिएको थियो।

बस्ती बीचमै संक्रमितको शव गाडेको भन्दै स्थानीयहरूले कब्रिस्थानमा तालाबन्दी गरेका हुन्। 

शुक्रबार बिहान दुवै मृगौला फेल भएर मृत्यु भएका धनगढी उपमहानगरपालिका-१ का ५० वर्षीय मोहम्मद जमसेदको शव व्यवस्थापनमा समस्या भएको परिवारले जनाएको छ। 

मृतकका छोरा सद्दाम जमसेदले आफ्नो संस्कार अनुसार शव कब्रिस्थानमै गाड्नुपर्ने भएकाले तालाबन्दीले गर्दा बिहानैदेखि शव आगनमै रहेको बताए।

स्थानीयहरूले बस्तीको बीचमै रहेको कब्रिस्थानमा कोरोना संक्रमितको शव व्यवस्थापन गर्दा गाउँमै महामारी फैलिन सक्ने भन्दै संक्रमितको शव अन्यत्रै व्यवस्थापन गर्न मा गरेका छन्।

पशुपति टोलको बीचमा मुस्लिम समुदायको शव व्यवस्थापन स्थल छ। वर्षाैंदेखि उनीहरूले यही स्थानमा आफन्तको शव व्यवस्थापन गर्दै आएका थिए। 

जिल्ला प्रशासन कार्यालय, कैलालीका सूचना अधिकारी शिवराज जोशीले कार्यविधि अनुसारनै संक्रमितको शव व्यवस्थापन गरे पनि स्थानीयले विरोध जनाएको बताए। उनले मुस्लिम समुदाय र तालाबन्दी गर्ने पक्षबीच छलफल भइरहेको जानकारी दिए।

स्थानीयको माग अनुसार शव व्यवस्थापन गरिएको स्थानमा उपमहानगरपालिकाले सेनिटाइजसमेत गरिएको जोशीले जानकारी दिए।

कात्तिक १४, २०७७ शुक्रबार १६:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।