डार्फर सुडान मिसन जाने प्रहरी टोलीको बिदाई

डार्फर सुडान मिसन जाने प्रहरी टोलीको बिदाई

काठमाडौं : संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ फर्मड पुलिस युनिट (एफपियु)को रुपमा डार्फर, सुडानस्थित युनामिड मिसनमा जान लागेको प्रहरी टोलीलाई बिदाई गरिएको छ। 

मिसनअन्तर्गत १७ औं समूहमा जाने टोलीलाई प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच बिदाई गरेका हुन्।
 
महानिरीक्षक थापा क्षेत्रीले उक्त समूहका कन्टिनजेन्ट कमाण्डर प्रहरी उपरीक्षक सुरेन्द्र प्रसाद मैनालीलाई नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गरेर बिदाई गरे। मिसनमा १ सय ८० जना अधिकृत र जवान सहभागी छन्।
 
महानिरीक्षक थापा क्षेत्रीले मिसनमा छनोट भइ प्रशिक्षणमा समेत सफल भएका समूहका प्रहरी कर्मचारीहरुलाई बधाई तथा शुभकामना दिए। उनले परिस्थितिमा आएको परिवर्तन र गतिशिलतालाई ध्यानमा राखी एफपियु छनोट मापदण्डलाई हालै अद्यावधिक गरिएको र अद्यावधिक मापदण्ड प्रहरी कर्मचारीको वृत्ति विकासको निम्ति थप लाभदायक हुने विश्वास व्यक्त गरेका थिए।   

संयुक्त राष्ट्रसंघीय मिसनमा खटिने प्रहरी कर्मचारी देश र संगठनको प्रतिनिधिको रुपमा रहने उल्लेख गर्दै महानिरीक्षक क्षेत्रीले भने, ‘विदेशमा रहँदा तपाईं व्यक्ति र संगठन मात्र होइन, एउटा मुलुक पनि हो भन्ने कुरा तपाईंको आत्मामा रहनु पर्छ।’ 

मिसनमा खटिने प्रहरी कर्मचारी राष्ट्रकै प्रतिनिधि भएकोले मर्यादित आचरण र अनुशासित हुनुपर्ने चर्चा गर्दै क्षेत्रीले युएनको मापदण्ड अनुसार व्यावसायिकता प्रदर्शन गरि दिएको जिम्मेवारी पूरा गर्न निर्देशन समेत दिएका थिए। 

समारोहमा मिसनसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै प्रहरी प्रधान कार्यालय, युएन महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वीरेन्द्रकुमार बस्यालले टोलीमा १ प्रहरी उपरीक्षक, ४ प्रहरी नायब उपरीक्षक ,७ प्रहरी निरीक्षक ,२४ प्रहरी नायब निरीक्षक ,१७ प्रहरी सहायक निरीक्षक, ५५ प्रहरी हवल्दार ,६५ प्रहरी जवान र ७ प्रहरी कार्यालय सहयोगी समावेश भएको जानकारी गराएका थिए।

मिसनमा खटिएकाहरु दुई समूह गरी कात्तिक १७ र मंसिर ११ गते त्यसतर्फ प्रस्थान गर्ने महाशाखाका प्रमुख बस्यालले जानकारी दिए। समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायब महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी अधिकृतहरुको उपस्थिति थियो।

कात्तिक १४, २०७७ शुक्रबार १५:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।