भारतीयलाई नागरिकता सिफारिसको आरोपमा वडाअध्यक्ष पक्राउ

भारतीयलाई नागरिकता सिफारिसको आरोपमा वडाअध्यक्ष पक्राउ

धनगढी : भारतीयलाई नागरिकता सिफारिस गरेको अभियोगमा एक वडाअध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-१२ का वडाअध्यक्ष गणेशबहादुर जोशी छन्। जोशीले भारतीय नागरिकलाई बंशजका आधारमा नेपाली नागरिकता दिलाउन सिफारिस गरेको आरोप लागेको छ। 

जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रतीक विष्टका अनुसार जोशीले २०७५ फागुन २० गते 
उपमहानगरपालिको वडा नम्बर १२, हिम्मतपुर शिविरका पुनिराम चौधरीलाई नक्कली बुबा बनाएर भारतीयलाई नागरिकता सिफारिस गरेको जाहेरी परेपछि अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको बताए।

उनका अनुसार चौधरीले नक्कली बुबा बनेर भारतका अलियास अन्सारीलाई नागरिकता दिलाउन वडा कार्यालयबाट सिफारिस बनाएका थिए।

अन्सारी टीकापुर नगरपालिका-७ मा बस्दै आएका छन्। नक्कली बुबा बन्ने चौधरी फरार छन् भने उनका दाजु खुसीराम चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

वडाअध्यक्ष जोशी नेपाली कांग्रेसबाट विजयी हुन्। जोशीलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कात्तिक १४, २०७७ शुक्रबार ०९:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।