भिटेनलाई कारबाही गर्न साइबर ब्युरोलाई निर्देशन
काठमाडौं : आपत्तिजनक शब्दको प्रयोग गर्दै गीत निकालेको भन्दै प्रहरी प्रधान कार्यालयले भिटेन उपनामले चिनिने र्यापर समीर घिसिङलाई कारबाही गर्न साइबर ब्युरोलाई चिठी लेखेको छ।
भिटेनले एक साताअघि युट्युबमा पोस्ट गरेको र्यापको भिडिओमा आपत्तिजनक शब्द प्रयोग भएपछि कारबाही गर्न बिहीबार साइबर ब्युरोलाई चिठी लेखिएको नेपाल प्रहरी प्रवक्ता एवं एसएसपी कुवेर कडायतले जानकारी दिए।
भिटेनले यसपटक ‘पारा’ शीर्षकमा नयाँ भिडिओ सार्वजनिक गरेका थिए।
भिटेनले फेरि आपत्तिजनक शब्द प्रयोग गरी प्रहरीलाई समेत दुर्वचनयुक्त भिडिओ सार्वजनिक गरेपछि कारबाही गर्न निर्देशन दिएको एसएसपी कडायतले बताए।
‘त्यहाँ प्रयोग भएका शब्द सभ्य समाजले पचाउने खालका छैनन्, प्रहरीलाई मात्र नभएर नेपाली चेलीबेटी तथा समाजलाई असभ्य हुने खालको देखियो,’ कडायतले भने।
पाँच दिनअघि सार्वजनिक भएको भिटेनको उक्त भिडिओ अहिले नेपालको युट्युबमा टेन्ड्रिङको पहिलो नम्बरमा छ।
यसअघि आापत्तिजनक शब्द तथा चित्र बोकेको भिडिओ सार्वजनिक गरेको आरोपमा महानगरीय अपराध महाशाखाले भिटेनलाई पक्राउ गरेको थियो।
एक वर्षअघि पनि र्यापका विषयमा उनी विवादमा परेका थिए। प्रहरीले उनलाई पक्राउ गरी भिडिओ डिलिट गर्न लगाएको थियो। साथै त्यस्तो शब्द प्रयोग गरेर भिडिओ सार्वजनिक नगर्ने सर्तमा उनलाई बिनाकारबाही रिहा गरिएको थियो।
कात्तिक १३, २०७७ बिहीबार १७:०४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।