पर्सा घटनाको एक सातापछि जाहेरी दर्ता
काठमाडौं : पर्सामा नेकपा कार्यकर्ता मुकेश चौरसियाको मृत्यु भएको एक सातापछि प्रहरीले जाहेरी दर्ता गरेको छ।
मृतकका परिवारले दिएको किटानी जाहेरी प्रहरीले बिहीबार दर्ता गरेको हो। जाहेरीमा पूर्वसांसद राजकुमार गुप्तासहित १३ जनामाथि ज्यान मार्ने कार्यमा संलग्न भएको आरोप लगाइएको छ।
प्रहरीले जाहेरी लिन अस्वीकार गरेपछि एक सातादेखि पूर्वमन्त्री मातृका यादवको नेतृत्वमा विरोध र धर्ना कार्यक्रम भइरहेको थियो। प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमार्फत जाहेरी लिएको हो।
प्रहरीले जाहेरी नलिएपछि मृतकको शव एक सातासम्म परिवारले बुझ्न मानेका थिएनन्। शुक्रबार बिहान शव परीक्षण गरेपछि बुझ्ने परिवारले जनाएको छ।
विन्दवासनी गाउँपालिकाको शपथ ग्रहण कार्यक्रममा कार्तिक ६ गते नेकपाकै दुई पक्षबीच भएको झडपमा घाइते भएका चौरसियाको उपचारका क्रममा ज्यान गएको थियो।
पार्टीको गाउँपालिका कमिटी सचिवसमेत रहेका चौरसियाको शव नारायणी अस्पतालमा राखिएको छ।
कात्तिक १३, २०७७ बिहीबार १६:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।