भारतमा नेपाली विद्यार्थी कुटिएको घटनाप्रति गम्भीर बन्न कांग्रेसको आग्रह

भारतमा नेपाली विद्यार्थी कुटिएको घटनाप्रति गम्भीर बन्न कांग्रेसको आग्रह

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भारतको देहरादूनमा नेपाली विद्यार्थी कुटिएको घटनालाई गम्भीरतापूर्वक लिन सरकारलाई आग्रह गरेको छ। 

एक देशका विद्यार्थी अर्को देशमा पढ्न जाने विषय सामान्य कुरा भएको र जो जहाँ पढिरहे पनि सुरक्षित र निर्भिक वातावरण प्राप्त गर्नु उनीहरूको अधिकार भएकाले त्यसको सुनिश्चितता गर्ने अभिभारा दुवै देशका सरकारहरूको रहेको कांग्रेसले औंल्याएको छ। 

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार एक प्रेस विज्ञप्तिमार्फत कुनै पनि बहानामा नेपाली विद्यार्थी वा अन्य कोही नेपाली नागरिक दुर्व्यवहार  र आक्रमणमा परे त्यसलाई नेपाल सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताएका छन्।

विजयादशमीकै दिन दर्जनौं नेपाली विद्यार्थीमाथि भएको कुटपिटलाई गम्भीरतापूर्वक लिँदै घटनाबारे विरोध प्रकट गर्न पनि सरकारसमक्ष आग्रह गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाली विद्यार्थीहरूको सुरक्षा र सम्मानबारे गम्भीर पहलकदमी गरेर आगामी दिनमा यस्ता घटना कहीँ पनि हुन नदिन आवश्यक सतर्कताका लागि सरकार समक्ष माग गर्छाैं।’ 

कांग्रेसले आगामी दिनमा यस्ता घटना कहीँ पनि हुन नदिन आवश्यक सतर्कताका लागि सरकारसँग माग गरेको छ। 

कात्तिक १३, २०७७ बिहीबार १४:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।