दर्ता भएन सत्तारुढ दलकै कार्यकर्ता हत्याको जाहेरी

दर्ता भएन सत्तारुढ दलकै कार्यकर्ता हत्याको जाहेरी

काठमाडौं : पर्सामा सत्तारुढ दल नेकपाका स्थानीय नेता मुकेश चौरसियाको हत्या भएको ६ दिन बितिसक्दा पनि प्रहरीले उजुरी दर्ता गर्न मानेको छैन। 

घटनाको छानबिनको लागि उजुरी दर्ता गर्न माग गर्दै पर्सामा दिनहुँ प्रदर्शन भइरहेको छ। बुधबार पनि प्रदर्शन जारी रह्यो।

पर्साको बिन्दवासिनी गाउँपालिका प्रसौनीभाट्ठामा सपथग्रहण कार्यक्रममै झडप हुँदा अर्को पक्षको कुटाइबाट चौरसियाको मृत्यु भएको हो। किटानी जाहेरीबाट पूर्वसांसद राजकुमार गुप्ताको नाम हटाए मात्रै उजुरी लिने भन्दै प्रहरीले जाहेरी अस्वीकार गरिरहेको छ।

पूर्वएमाले र पूर्वमाओवादीका दुई खेमामा देखिएका नेकपा स्थानीय कार्यकर्ताबीचको मनमुटावका कारण जिल्ला कार्य समिति सदस्य चौरसियाको हत्या भएको पीडितहरुको भनाइ छ।

कात्तिक ६ गते भएको झडपमा घाइते भएका चौरसियाको उपचारका क्रममा ज्यान गएको थियो। उनी पूर्वमाओवादी तर्फका हुन्। उनको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै उजुरी दर्ताका लागि पूर्वमाओवादीतर्फका नेकपा कार्यकर्ताहरु दैनिकरुपमा प्रदर्शनमा उत्रिएका छन्।

चौरसियाको हत्याको छानबिन गर्न र दोषीलाई कारबाही गर्न नेकपा अध्यक्ष पुष्पकमल दाहाललेसमेत विज्ञप्ति जारी गरी सरकारको ध्यानाकर्षण गराइसकेका छन्।

हत्या प्रकरणमा पूर्वसांसद राजकुमार गुप्ताको डिजाइन रहेको भन्दै उनीमाथि समेत मुद्दा दर्ता गराउन पूर्वमाओवादी खेमाका नेताहरुको माग छ। तर पूर्व एमाले खेमाका नेता भने गुप्ता बाहेकका व्यक्तिमाथि मुद्दा लगाउनुपर्ने अडानमा छन्। 

जाहेरी लिन नमानेपछि नेकपा कार्यकर्ताले मंगलबार जिल्ला प्रहरी कार्यालयअगाडि जिल्ला प्रहरी कार्यालय, पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तको पुत्ला समेत जलाएर विरोध प्रदर्शन गरेका थिए। दैनिकजसो हुने प्रदर्शनमा नेता मात्रिका यादवसमेत सहभागी छन्।

कात्तिक १२, २०७७ बुधबार १४:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।