नेकपा केन्द्रीय कमिटी बैठक एक महिना सर्यो
काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कमिटीको बैठक एक महिना पर सरेको छ।
नेकपा केन्द्रीय कार्यालयका सचिवद्वय श्रीराम ढकाल र ईश्वरी रिजालले बुधबार विज्ञप्ति जारी गरि केन्द्रीय कमिटीको बैठक मंसिर १५ गतेसम्मका लागि सारिएको जानकारी दिए।
‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को २०७७ कार्तिक १५ देखि १७ गते आयोजना गरिएको केन्द्रीय कमिटीको तेस्रो बैठक कोभिड-१९ महामारीको बढ्दो प्रकोपका कारण हाललाई स्थगित गरिएको छ। स्थगित बैठक यही २०७७ मङ्सिर १५ देखि १७ गते आयोजना गरिने छ,’ विज्ञप्तिमा भनिएको छ।
गत असारदेखि भदौसम्म चलेको स्थायी कमिटी बैठकले कात्तिक १५ देखि १७ सम्म केन्द्रीय कमिटीको बैठक बस्ने तय गरेको थियो। तेस्रो केन्द्रीय कमिटीको बैठकले महाधिवेशनसम्बन्धी कार्ययोजना पारित गर्ने भनिएको थियो।
नेकपाको दोस्रो केन्द्रीय कमिटी बैठक गत वर्ष माघ १५ देखि १९ सम्म बसेको थियो।
कात्तिक १२, २०७७ बुधबार १४:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।