धारिलो हतियार प्रहार गरि युवकको हत्या

धारिलो हतियार प्रहार गरि युवकको हत्या

ढकारी गाउँपालिका-३, गढीहाले बजार नजिकै धारिलो हतियार प्रहारबाट २० वर्षीय देवेन्द्र थापाको हत्या भएको छ भने १६ वर्षीय रुद्र थापा घाइते भएका छन्। 

ढकारी गाउँपालिका ३ का वडाअध्यक्ष महादेव बुढाले मंगलबार बिहान गढीहाले बजार नजिकै हत्या गरेको अवस्थामा २० वर्षीय थापाको शव फेला परेको बताए। वडाअध्यक्ष बुढाका अनुसार थापाको शरीरमा धारिलो हतियार प्रहार गरेको देखिएको छ। 

उनको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ। 

ढकारीकै जाल्पादेवी मेला हेरेर फर्किने क्रममा चोइटेखालीमा थापाको हत्या भएको स्थानीयले बताएका छन्।

गम्भीर घाइते अवस्थामा भेटिएका १६ वर्षीय रुद्र थापालाई थप उपचारका लागि कोहलपुर पठाइएको छ।

यसैबीच, हत्या आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ढकारी गाउँपालिकाकै नरेन्द्रबहादुर बुढा छन्। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

खुट्टा छिनिएको अवस्थामा फेला 

दाङको तुलसीपुर उपमहानगरपालिका–११, नवलपुरका ४५ वर्षीय कुमार बिक बायाँ खुट्टा छिनिएको अवस्थामा फेला परेका छन्।

इलाका प्रहरी कार्यालय, तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार सोमबार राति १० बजेतिर तुलसीपुर–१२, गोलौरीमा अज्ञात व्यक्तिहरुको आक्रमणबाट बिक बायाँ खुट्टा छिनिएका अवस्थामा फेला परेका हुन्। 

बिकलाई सोमबार राति नै राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर रेफर गरिएको थियो।

गोलौरीमा भाञ्जाको बिहेका गएका बिकलाई घर फर्कने क्रममा पढ्दा र गोलौरी बीचको एकान्त ठाउँमा अपरिचित समूहले सांघातिक आक्रमण गरेको हुनसक्ने प्रहरीको भनाइ छ।

कात्तिक ११, २०७७ मंगलबार १३:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।