चाहना मदिराको, बहाना दसैंको
अझ यस्तो भेटघाटमा मदिरा पिउने मानिस भए त अझ माहोल नै ‘फेस्टिब’ भइहाल्छ। कहिल्यै मदिरा नपिउनेका लागि पनि पहिलो स्वाद (चाख्ने) लिने अवसर दसैंले नै दिने गरेको छ।
दसैं, तिहार जस्ता फेस्टिबल सुरु हुनुअघि यसलाई कसरी मनाउने, खानपान के गर्ने भन्नेबारे चर्चा हुने गरेको छ।
समयसँगै दसैंलाई अझ रसिक र आत्मीय बनाउन फरक–फरक प्रकारका खानपानका ‘मेन्यु’ थपिँदै छन्। यहाँ चर्चा गर्न खोजिएको मदिराको प्रयोगबारे हो। नेपालीमाझ पेय संस्कृतिको रूपमा भित्रिएको मदिरा स्वास्थ्य र धार्मिक कारण देखाएर सबैले पिउँदैनन्। पिउनेलाई पनि यो बेला रोकटोक हुँदैन।
नेपाल मदिरा उत्पादक संघका अध्यक्ष रवि केसी अन्य बेलाको तुलनामा यो वर्ष कोरोनामा कारण सबै क्षेत्रमा चहलपहल कम भएको र त्यसको असर मदिरा व्यवसायमा पनि परेको अनुभव सुनाउँछन्। लकडाउन खुकुलो भएपछि दसैंमा थोरै भए पनि मदिरा व्यवसायमा चलाएमान देखिएको उनको भनाइ छ।
सरकारले लकडाउन खुकुलो बनाएसँगै मदिराको पनि व्यापार खुला भएको छ। तर, व्यापार विगतको जस्तो नभएको व्यवसायी बताउँछन्।
गत वर्षको तुलनामा यस वर्ष मदिराको व्यापार ३० देखि ३५ प्रतिशत मात्र भएको संघ अध्यक्ष केसीले बताए। ‘कोरोनाले सबैं क्षेत्रमा असर परिरहेको बेला मदिराको व्यवसायमा पनि प्रभाव परेको छ,’ उनले भने।
नेपाली समाजमा स्वास्थ्य र अन्य कारणले मदिरालाई झट्टै स्वीकार नगरे पनि मदिरा जबरजस्त संस्कारकारूपमा भित्रिएको छ। यदाकदा मदिरा पिउनेले पनि रमाइलो र लामो समयपछि साथीभाई तथा परिवार भेटघाट भन्दै दसंैमा १/२ प्याक घुट्क्याउने गरेको पाइन्छ। यसरी हेर्दा नेपालीले कुनै बहानामा मदिरा पिउने दरलाई बढाएको देखिन्छ।
नेपालमा हरेक वर्ष मदिरा पिउनेको संख्या बढिरहेको तथ्यांकले देखाउँछ।
नेपालमा वर्षेनी बियर उत्पादन र प्रयोग बढिरहेको छ। बियर उत्पादनको दर हेर्दा नेपालमा बियर पारखीको संख्या कम नरहेको अनुमान लगाउन सकिन्छ। तर, केही समययता वाइन उत्पादन घटेको नेपाल मदिरा उत्पादन संघले जनाएको छ।
बढी अल्कोहल भएका रक्सीको उत्पादन वृद्धिदर भने बियरको तुलनामा कम छ।
बढी अल्कोहल भएका मदिराले स्वास्थ्यमा बढी असर गर्ने गरेको छ। अल्कोहल बढी भएका मदिराको उत्पादन वृद्धिदर २० प्रतिशत मात्र देखिन्छ। जसमा भोडका, ह्विस्की, रम, जिन तथा अन्य हार्ड ड्रिक्स पर्छन्।
नेपालमा दर्ता भएका मदिराजन्य पेयपदार्थ उत्पादन गर्ने कम्पनी झण्डै १०० छन्। तीमध्ये बजारमा प्रतिस्पर्धा गर्न सक्ने ६० वटाभन्दा बढी रहेको लकडाउनअघिको मदिरा कारोबारको तथ्यांकले देखाउँछ।
मदिरा पिउनेका लागि सिकारु पेय पदार्थ मानिने बियर उत्पादन गर्ने कम्पनी बढेका छन्। पछिल्लो समय हार्ड ड्रिक्र्स उत्पादन गर्दै आएका कम्पनीले समेत सहायक उत्पादनको रूपमा बियर उत्पादन सुरु गरेका छन्।
तर, वाइन उत्पादन गर्ने कम्पनीको संख्या घटेको छ। व्यवसायीका अनुसार कुनै बेला वाइन उत्पादन गर्ने कम्पनीको संख्या ३१ रहेको थियो। वाइन नेपाली समाजको ‘कमन’ पेय पदार्थको रूपमा मानिन्छ।
मदिरामा वार्षिक ९० अर्ब खर्च
नेपालीले एक वर्षमा मदिराका लागि ९० अर्ब रूपैयाँ खर्च गर्ने गरेको देखिन्छ। नेपालमा नै उत्पादन हुने मदिराको बजार ७८ अर्ब रूपैयाँ छ। विदेश निर्यात हुने अधिकांश नेपाली मदिराको उपभोक्ता विदेशमा रहेका नेपाली नै छन्।
मदिराको लागि नेपालीले खर्च गरेको ५५ प्रतिशत पैसा भने विभिन्न प्रकारका करमार्पmत सरकारको ढुकुटीमा जाने गरेको छ। सरकारले मदिरा कारोबारमा अन्तःशुल्क, आयकर, कच्चा पदार्थ भन्सारको शीर्षकमा आधाभन्दा बढी लिने गरेको छ।
व्यवसायीका अनुसार मदिराको सम्पूर्ण कारोबारको १३ प्रतिशत वितरणका क्रममा खर्च हुने गरेको छ भने उत्पादकले ३२ प्रतिशत मात्र पाउने गरेका छन्।
‘मदिरा थोरै पिऔं’
मदिरा उत्पादन दरको वृद्धिलाई हेर्दा मदिरा प्रयोगकर्ता बढेको देखिन्छ।
मदिरा प्रयोगले रोगको जोखिम हुने गरेको चिकित्सक बताउँछन्। उनीहरूका अनुसार मदिराको अधिक सेवनले कलेजो र मृगौलामा क्यान्सर हुने जोखिम हुन्छ।
त्यसकारण मदिराको लत लाग्न नदिन सामाजिक अभियान संचालन गर्नु पर्ने देखिएको छ।
सरकारले मदिराको प्रयोग र उपभोगलाई नियन्त्रण गर्न बेलाबेला विभिन्न नियम लगाउने गरेको छ। तर, अनुगमनमा सरकार फितलो देखिएको छ। सरकारले दसंैका बेला मात्रै उत्पादन तथा बिक्री वितरण गर्ने कम्पनी, पसललगायतको अनुगमन गर्ने गरेको छ।
मदिराका कारण सामाजिक र स्वास्थ्य समस्या निम्तिएपछि कतिपय देशले मदिरा उत्पादन र प्रयोगलाई पूर्णरूपमा रोक लगाएका छन्।
सरकारले लकडाउनपछि विदेशी मदिराको आयातमा रोक लगाएको छ। यसबारे व्यवसायी दुई धारमा देखिएका छन्। ठूला व्यवसायीले यसलाई सकारात्मक भनेका छन् भने साना व्यवसायीले आयात खुला गर्नु पर्ने धारणा राखेका छन्।
नेपालमा वाइन र वियर फ्रान्स र अस्ट्रेलियाबाट आयात हुने गरेको छ। यसैगरी, हार्ड ड्रिक्स अमेरिका, इटाली, बेल्जियम, चीन, भारतबाट भित्रिन्छ। विदेशबाट आउने मदिरामा हार्ड ड्रिक्स र वाइनको हिस्सा बढी हुने गरेको छ।
कात्तिक ११, २०७७ मंगलबार १०:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।