छुवाछुत अन्त्यका लागि दलितको हातबाट दसैंको टीका

छुवाछुत अन्त्यका लागि दलितको हातबाट दसैंको टीका

धनगढी : कैलालीका गैरदलित युवाहरुले दलित समुदायका वृद्धवृद्धाको हातबाट टीका र जमरा लगाएका छन्। 

नेपाल विद्यार्थी संघ (नेबिसंघ) कैलाली, क्षेत्र नम्बर ४ को आयोजनामा गैरदलित युवाहरुले दलित समुदायका वृद्धवृद्धाको हातबाट टीका र जमरा लगाउने कार्यक्रम आयोजना गरेको हो। 

युवाहरुले गोदावरी नगरपालिका ९, सेहरीस्थित ८४ वर्षीया रम्भादेवी विक र ७० वर्षीया डम्मरादेवी विकको हाताबाट टीका र जमरा लगाएको नेविसंघका क्षेत्रीय सभापति गणेश शाहले बताए। 

धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकामा दलित समुदायका विद्यार्थीले डेरा नपाउने समस्यालाई मध्यनजर गर्दै यो कार्यक्रम आयोजना गरेको उनले जानकारी दिए। दसैंको दिनको टीकाको विशेष महत्त्व रहने भएकाले दलित समुदायको घरबाट टीका लगाएर दसैं सुरुवात गरिएको शाहले बताए। 

दुर्गालक्ष्मी बहुमुखी क्याम्पसको नेविसंघ ईकाई अध्यक्ष तथा समस्या पहिचान तथा समाधान घरदैलो अभियानका सयोजक पदम ओझाले समाजमा व्याप्त जातीय छुवाछुत अन्त्यका लागि सकारात्मक सन्देश दिन टीका ग्रहण कार्यक्रम आयोजना गरिएको बताए। 

नेपालमा जातीय छुवाछुत कानुनीरुपमा अन्त्य भए पनि सामाजिकरुपमा विद्यमान रहेकाले त्यसको अन्त्यका लागि अभियानले सकरात्मक सन्देश दिने नेपाली कांग्रेस कैलालीका जिल्ला कार्यसमिति सदस्य नृप सुनारले बताए।

सामाजिक अभियान्ता बिर्सलाल विश्वकर्माले कैलालीमा सबैभन्दा बढी दलितहरुको बस्ती रहेको गोदावरी नगरपालिकाबाट नै यो अभियान संचालन हुनुले समाजमा सकारात्मक सन्देश दिने बताए।

कात्तिक ११, २०७७ मंगलबार ०८:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।