डाक्टरको दसैं
काठमाडौं : चिकित्सकीय पेशा बिरामीको सेवामा व्यस्त रहने पेशा हो। वर्ष दिनमा आउने चाड दसैंमा चिकित्सक तथा स्वास्थ्यकर्मीको पनि आफ्नै भोगाइ तथा अनुभूति हुन्छन्।
यसपाली कोरोना भाइरस(कोभिड˗१९) संक्रमणका कारण अधिकांश चिकित्सकले परिवारभित्र सीमित रहेर दसैं मनाइरहेका छन्। यहाँ चार जना डाक्टरको दसैं अनुभूतिका बारेमा चर्चा गरौं।
मनोविद् करुणा कुँवरलाई दसैं निक्कै मनपर्ने चाड हो। वर्षभरी भेटघाट नभएका आफन्तसँग भेटघाट गर्न पाउँदा उनको मन गदगद हुन्छ। वर्षभरी बिरामीको सेवामा व्यस्त रहने उनी दसैंमा परिवारसँग बसेर मिठा परिकार खाँदा आनन्द नहुने कुरै भएन।
मनोविद् कुँवरको दसैंका केही अविस्मरणीय अनुभव पनि छन्। तीन वर्षअघिको दसैंमा उनी उदयपुरमा आफन्त भेट्न तथा घुमघाम गर्न आफ्नै गाडीमा जाँदै थिइन्। गाडी उनकै श्रीमानले चलाएका थिए। तर, खुर्कोटको डाँडामा पुगेपछि गाडी बिग्रियो। फोनमा गाडी बनाउने मेकानिकको सल्लाहमा प्रत्येक पाँच मिनेटमा गाडीमा पानी हाल्दै यात्रा अगाडि बढ्यो। तर, गुडिरहेको गाडी अचानक लक भयो।
अनकन्टार ठाउँमा गाडी बिग्रिएकाले खाने ठाउँ पनि थिएन। बेलुका ३ बजे अनकन्टार बाटोमा गाडी बिग्रिएपछि टाढाबाट मेकानिकलाई बोलाएर ल्याएपछि राति ८ बजे गाडी बन्यो। त्यसपछि उनी राति १२ बजे उदयपुर पुगिन्। दसैं आयो की तीन वर्ष अघिको त्यो घटना उनी सम्झिहाल्छिन्।
मनोविद् कुँवरको दसैंको अर्को अविस्मरणीय क्षण पनि छ। करिव २० वर्षअघि ५÷७ वर्षको फरकमा उनका हजुरबुबा र हजुरआमा बिते। त्यो समयको दसैं उनलाई साह्रै खल्लो लागेको अनुभव भयो।
यसपाली भने उनी परिवारसँग मात्रै बसेर दसैं मनाइरहेकी छन्। उनका बुवाआमा नजिक भएकाले बुवाआमाकोमा हातबाट भने टीका लगाउन जान्छिन्। उनी यसपाली बुवाआमाकोमा बाहेक अन्त टीका लगाउन गइनन्। कुँवरले भनिन्, ‘कतिपय आफन्त कोरोना संक्रमित हुनुभयो।’
त्यसैले यसपालीको दसैं अलि खल्लो भएको महशुस भयो उनलाई। तर, मनोविद् कुँवर कोभिडको कारण परिस्थिति अनुसार चल्न सिक्नु पर्ने पाठ सिकेको उनी बताउँछिन्।
०००
काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुनको धेरैजसो दसैं त अस्पतालमा नै बित्छ। उनी भन्छन्, ‘धेरै दसैंको आशीर्वाद अस्पतालमा बिरामीबाट पाएको छु।’ दसंैमा अस्पतालमा नै व्यस्त हुने भए पनि उपचारपछि बिरामीले दिने आशीर्वाद पाउँदा उनको मन आनन्दित हुन्छ।
चार वर्ष अगाडिको त्यस्तै एउटा क्षण सम्झन्छन् डा. पुन। दसैंमा एक जना पाको उमेरका व्यक्ति ज्वरोले ग्रस्त भएर अस्पताल भर्ना भएका थिए। ती व्यक्तिले आफूलाई उपचार गरेर बचाएकोमा डा. पुनलाई आशीर्वाद दिए। डा. पुन ती पाका व्यक्तिले आशीर्वाद दिएको सम्झन्छन्, ‘आशीर्वाद दिँदा आनन्द लाग्यो।’
पहिले त दसैंमा धेरै बिरामीहरु झाडापखाला तथा बान्ता भएर आउँथे। उनी केही वर्षसम्म त ७२ घण्टासम्म पनि अस्पतालमा नै सेवा गर्थे। तर, अहिले चिकित्सकको संख्या बढेकाले काममा अलि हल्का भएको उनी महसुस गर्छन्। डा. पुन केही वर्ष अघिका दसैंलाई सम्झन्छन्, ‘अस्पतालमा बिरामीको चापले खुट्टा टेक्ने ठाउँसम्म हुँदैन थियो।’ तर, अहिले भने अवस्था त्यस्तो छैन।
यसपाली पनि अस्पतालमा बिरामीको सेवा गर्ने र बचेको समयमा आफ्नो विषयमा अध्ययन गर्ने, लेख्ने काम गरिरहेका छन्, उनी। यसवर्ष उनी परिवारभित्र मात्रै दसैं मनाइरहेका छन्। एउटै घरमा बस्ने भए पनि उनी कोभिड अस्पतालमा काम सेवा गर्ने भएकाले बुबाआमासँग भेट गर्दैनन्। बोल्नुपर्दा पनि टाढैबाट बोल्छन्। स्वास्थ्य सुरक्षा अपनाएर टीका लगाए।
०००
जनस्वास्थ्यविज्ञ डा. रवीन्द्र पाण्डेलाई दसैं भन्नेबित्तिकै बाल्यकालको याद आउँछ। गुल्मीमा बाल्यकाल बिताएका उनले काठमाडौंलाई कर्मथलो बनाए पनि गाउँको दसैं सम्झने गर्छन्। गाउँमा दशैंको रौनक सम्झँदै डा. पाण्डले भने, ‘त्यो समयमा विदेश जानु भनेको लाहुर अर्थात भारत जानु हुन्थ्यो।’
भारतमा काम गरेर दसैंमा फर्किनेहरुले टिनका बाकस बोकेर काँधमा रेडियो घन्काउँदै गाउँ फर्कँदा उनलाई पनि कहिले यसरी लाहुर जान पाउँछु जस्तो लाग्थ्यो। भारतबाट फर्किएका लाहुरे अर्थात भारतमा मजदुरी काम गर्न गएर दसैं मान्न फर्केकाहरुको हिन्दी र नेपाली मिसिएका कुरा सुन्दा उनी रोमान्चित हुन्थे। कमाउन परदेशिएकाहरु दसैं मान्न फकँदा उनीहरुको गाउँभरी चर्चा चल्थ्यो। दसैंमा बाटोघाटो सफा गर्ने चलन हुन्थ्यो। पिङ हालिन्थ्यो। एक पटक त डा. पाण्डे समीको रुखमा डोरी बाँधेर पिङ खेलिरहँदा पिङमुनि गोरु आएर चर्न थालेछ। उनी गोरुको ढाडमा बज्रिने अवस्था आएपछि पिङको डोरीचाहिँ समाउन छाडेनछन्। डोरीमा समाएर उनी समीको रुखमा चढेर बचे। त्यसपछि पिङ खेल्दा उनी निकै सचेत हुन थाले।
दसैंमा हातमा तरवार, खुकुरी, लाठी, रुमाल लिएर बाजाको तालमा ‘बाँचे आइसल्...वाख्वाई!’ गोलाकाररूपमा सयौँ जना भेला भएर सराएं नाच्दा उनी कम रमाइलो मान्दैनथे।
यो वर्ष कोरोना महामारीका कारण टीका लगाउन नपरे हुन्थ्यो भन्ने उनलाई लागेको थियो। संयोगले भयो पनि त्यस्तै। डा. पाण्डेको दाजुभाइमा सुतक परेको छ, जसले गर्दा उनलाई यसपाली टीका लगाउन हिँड्न परेन। डा. पाण्डले भने, ‘कोरोनाको महामारीको समयमा लक्षण नभएका संक्रमितबाट रोग सर्ने जोखिम भएकाले टीका लगाउन नहिँड्ने योजना थियो।’
अहिले धेरै व्यक्ति कोरोना संक्रमित भएकाले परामर्शका लागि उनलाई फोन आउँछ। कोरोनाबाट बच्ने उपाय बताउँदै र परामर्श दिँदै यसपालीको दसैं परिवारमा बसेर मनाइरहेको डा. पाण्डेले बताए। उनले भने, ‘ बिरामीले पनि फोन गर्नु हुन्छ। परामर्श दिन्छु। आत्मबल बढाउने उपाय बताउँछु। अहिले त्यसैमा दिन बितिरहेको छ।’ यसपालीको दसैं उनलाई अत्यन्तै नौलो लागेको छ। उनले यो दसैंमा परामर्श दिन पाएकाले सन्तुष्टि रहेको बताउँछन्।
खानपानको कुरा गर्ने हो भने तीन वर्ष अघिसम्म बियर, ह्विस्की, वाइन पिउने भए पनि दुई वर्ष अघिदेखि आफूले पिउन छाडेको उनले बताए। परिवारसँग मिठो मसिनो खाएर दसैं मनाइरहेको उनले बताए।
०००
प्रा. डा. दिनेश बाँस्तोला पनि यसपालीको दसैंमा कतै गएनन् र नजाने योजनामा छन्। आफू चिकित्सक भएको नाताले उनी कोभिडबाट बच्ने सवालमा निकै सचेत छन्। तर, टीका लगाउन आउनेलाई भने लगाइदिन्छन्। स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर टीका लगाइदिने उनी बताउँछन्।
डा. बास्तोलालाई बाल्यकालको दसैं साह्रै अविस्मरणीय लाग्छ। सानो बेलामा मामाघरमा जाँदा दक्षीणाका पैसाले मिठाइ, सिसाकलम किनेको क्षण उनलाई अझै पनि अविस्मरणीय क्षण हुन्।
स्वास्थ्य सुरक्षा अपनाएर दसैं मनाउन चिकित्सकहरुको सुझाव छ।
कात्तिक १०, २०७७ सोमबार १९:५८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।