चिर्पट प्रहार गरि श्रीमतीको हत्या
काठमाडौं : म्याग्दीमा एक जनाले चिर्पट प्रहार गरि श्रीमतीको हत्या गरेका छन्।
मालिका गाउँपालिका २, रुमको खबाङमा आइतबार राति ओमबहादुर दमाईले चिर्पट प्रहार गरेर श्रीमतीको हत्या गरेका हुन्। घरायसी विषयमा उत्पन्न विवादमा ओमबहादुरले चिर्पट प्रहार गर्दा उनकी श्रीमती ४४ वर्षीया रिमा दमाईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीले जनाएको छ।
हत्या आरोपमा इलाका प्रहरी कार्यालय, दरवाङबाट प्रहरी सहायक निरीक्षक बलराम पौडेलको नेतृत्वमा गएको टोलीले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक किरणजंग कुँवरले बताए। शव परीक्षणका लागि बेनी अस्पताल लैजाने तयारी भएको छ। घरायसी विवादमा भनाभन हुँदा मदिरा सेवन गरेका ओमबहादुरले श्रीमतीलाई दाउराको चिर्पट प्रहार गरेको स्वीकार गरेका छन्।
स्थानीय बासिन्दाले इलाका प्रहरी कार्यालय, दरवाङलाई खबर गरेपछि राति नै प्रहरी टोली घटनास्थल पुगेको थियो। ओमबहादुरलाई पनि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पठाइने घटनास्थलमा रहेका प्रहरी सहायक निरीक्षक पौडेलले बताए।
कात्तिक १०, २०७७ सोमबार ११:१५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।