देउवाको दसैं शुभकामना, घर-डेरामै सीमित रहेर चाडपर्व मनाउन आग्रह

देउवाको दसैं शुभकामना, घर-डेरामै सीमित रहेर चाडपर्व मनाउन आग्रह

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दसैंको शुभकामना दिँदै घर डेरामै सीमित भएर चाडपर्व मनाउन सबैमा अपिल गरेका छन्। 

‘मठ मन्दिर जाँदा मास्क अनिवार्य लगाउन, भौतिक दूरी कायम राख्न, घर डेरामै सीमित रहेर पर्व मनाउन समस्त दिदिबहिनी-दाजुभाइमा म विनम्र अनुरोध र अपिल गर्छु,’ देउवाले भनेका छन्। 

धार्मिक र सांस्कृतिक पर्वका साथै अन्यायमाथि न्यायको तथा असत्यमाथि सत्यको विजयको शाश्वत सन्देश दिने यो पर्वलाई नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, सामाजिक सद्भाव, आपसी सहयोग र पारस्परिक एकताको रुपमा मनाउँदै आएको देउवाले स्मरण गरेका छन्।

कोरोना भाइरस (कोभिड–१९) संक्रमण महामारीको चपेटामा विश्वसँगै नेपाल पनि आक्रान्त रहेको भन्दै देउवाले यसको नियन्त्रणमा पर्याप्त समय हुँदाहुँदै पनि सरकार पुरै असफल भएको समेत बताए। 

‘आम जनताको स्वास्थ्य खतरामा परेको छ, अर्थतन्त्र धराशायी भएको छ। जनताको जीवन अत्यन्तै कठिन अवस्थाबाट गुज्रिरहेको छ,’ देउवाले भनेका छन्, ‘सरकार जनताप्रति संवेदनहीन, गैरजिम्मेवार, अनुत्तरदायी र कर्तव्यविमुख देखिएको छ।’ 

देशमा सरकारको उपस्थिति नै नरहेको आभाष हुन थालिसकेको भन्दै देउवाले कोभिड–१९ रोकथाममा सरकारले देखाएको उदासिनताका कारण बढ्दो संक्रमणलाई कम गर्न नागरिक आफै पनि सचेत र सजग हुन जरुरी देखिएको उनले भनेका छन्। त्यसैले सामाजिक, सांस्कृतिक पर्वहरु मनाउँदा आफू र आफ्नो परिवारलाई सुरक्षित राख्न उनले सबैमा आग्रह गरेका छन्।

कात्तिक १०, २०७७ सोमबार ०९:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।