भक्तपुरमा भारतीय नागरिकको हत्या, दुई पक्राउ
काठमाडौं : भक्तपुरको एक मेटल कारखानामा कार्यरत भारतीय नागरिकको हत्या अभियोगमा दुई जना पक्राउ परेका छन्।
महानगरीय प्रहरी परिसर, भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) तारादेवी थापाका अनुसार भक्तपुर नगरपालिका १, इँटापाकोस्थित मेटल कारखानामा कार्यरत ३५ वर्षीय शाहीव हुसैनको हत्या अभियोगमा सोही कारखानामा कार्यरत दुई भारतको उत्तर प्रदेशका १९ वर्षीय सानु अन्सारी र २३ वर्षीय सलमान खान छन्।
प्रारम्भिक अनुसन्धान अनुसार खान र अन्सारीले ढुंगा तथा इँटाले मुख र टाउकोमा हानेर हुसैनको हत्या गरेको खुलेको प्रहरीले जनाएको छ। हत्यापछि दुवैले हुसैनको शव नर्कटघारीमा फालेको प्रहरीको भनाइ छ।
प्रहरीका अनुसार शनिबार राति करिब ९ बजे तीन जनाले सँगै मदिरा सेवन गरेका थिए। सोही क्रममा हुसैनले खानकी प्रेमिकालाई अपशब्द बोलेपछि कोठा फर्कने क्रममा खान र अन्सारीले हुसैनको हत्या गरेको खुलेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ।
पैदलयात्रीले शव देखेर प्रहरीलाई खबर गरेको र अनुसन्धानका क्रममा प्रहरीले ती दुवैलाई पक्राउ गरेको प्रहरी उपरीक्षक थापाले बताइन्। दुवै आरोपितले घटनामाथिको आरोप स्वीकार गरेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए।
कात्तिक ९, २०७७ आइतबार १८:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।