पर्सा घटनामा संलग्नलाई कारबाही गर्न कांग्रेसको माग
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पर्सामा मुकेश चौरसियाको हत्याको गहिरो छानबिन गर्न र दोषीलाई तत्काल पक्राउ गरी कानूनी कारबाही गर्न माग गरेको छ।
विन्दावासीनी गाउँपालिकाका नेकपा सचिव एवम् नेकपा जिल्ला सदस्य चौरसियाको नेकपा कार्यकर्ताबीचको झडपमा ज्यान गएको थियो।
प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै घटनाको वास्तविकता तत्काल सार्वजनिक गर्न माग गरेका हुन्। कांग्रेसले विज्ञप्ति मार्फत् घटनाका विषयमा प्रधानमन्त्री एवम् नेकपाकै अध्यक्षको ध्यानाकर्षण गराएको छ।
आफ्नै पाटीका कार्यकर्ताको हत्याको जाहेरीसमेत नबुझ्ने सरकारबाट कस्तो कानूनी राज्यको अपेक्षा राखौं? शर्माले प्रश्न गरेका छन्। दोषीमाथि कारबाहीको जाहेरी बुझ्न प्रहरीले अस्वीकार गरेको र मृतकको शव अझै अस्पतालमा रहेकोे सार्वजनिक समाचार विवरणहरुप्रति नेपाली कांग्रेसले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
नागरिकको जीवनरक्षा राज्यको प्रथम कर्तव्य भएको भन्दै कांग्रेसले नेकपाको सरकार बनेपछि मुलुकमा शान्ति सुरक्षाको स्थिति गम्भीर बन्दै गएको जनाएको छ।
घटनाका दोषीलाई कुनै गुटगत संरक्षण नदिई कानूनी कारबाहीको कठघरामा उभ्याउनु राज्यको दायित्व भएको विज्ञप्तिमा उल्लेख छ।
३ दिन पुग्दासम्म जाहेरीसमेत नलिएर, नारायणी अस्पतालमा मृतकको शव रहिरहनु दुःखद र निन्दनीय भएको कांग्रेसले भनेको छ।
नेकपाको दुई समूहबीच असोज ६ गते बिहीबार झडप हुदा घाइतेको उपचारका क्रममा निधन भएको थियो।
कात्तिक ८, २०७७ शनिबार १८:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।