प्रधानमन्त्रीबाटै राष्ट्रिय सुरक्षामा थ्रेट : गगन थापा

प्रधानमन्त्रीबाटै राष्ट्रिय सुरक्षामा थ्रेट : गगन थापा

काठमाडौं : कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद गगन थापाले प्रधानमन्त्रीबाट नै नेपालको राष्ट्रिय सुरक्षामा थ्रेट देखिएको बताएका छन्। 

थापाले शुक्रबार प्रेस नोट सार्वजनिक गर्दै भारतिय खुपिया एजेन्सी ‘रअ’का प्रमुखसँगको भेटघाटले यस्तो थ्रेट बढेको बताएका हुन्। प्रधानमन्त्रीको यस्तो गैर राजनीतिक र गुप्तचरसँग भएको भेटमाथि अनुसन्धान हुनुपर्ने थापाको माग छ।
थापाले प्रधानमन्त्री र विदेशी गुप्तचरबीचको भेटलाई शिष्टाचार भेट भन्नु नै गैह्रकुटनीतिक र हास्यास्पद रहेको बताएका छन्। 
‘लडाईको समयमा बाहेक विदेशी गुप्तचर प्रमुखसँगको प्रधानमन्त्रीको वा राजनीतिक नेतृत्वको भेटलाई जायज वा सामान्न मान्न सकिन्न,’ थापाले विज्ञप्तिमा भनेका छन्।
परराष्ट मन्त्रालय र नेपालको सुरक्षा निकायको अनुपस्थितिमा प्रधानमन्त्रीले विदेशी गुप्तचर प्रमुखलाई भेट्नु कुटनीतिक मर्यादा विपरित भएको थापाको भनाइ छ।

‘कुटनीतिक हिसाबले नेपाल भारत सम्बन्ध यतिखेर जटिल अवस्थामा छ। यस बीच नेपाल सरकारले आफ्नो कुटनीतिक कौशल भारतीय राजनीतिक नेतृत्वलाई छलफलमा ल्याउनमा प्रयोग गर्नुपर्ने थियो। नेपाल भारतबीच छलफल र वार्ता हुनुपर्छ भन्नेमा अलमल नै छैन,’विज्ञप्तिमा भनिएको, ‘छलफल उच्च स्तरीय राजनीतिक तहमा हुनुपर्छ भन्नेमा हामी स्पष्ट हुनुपर्ने हो। भारतीय गुप्तचरसँगको कुनै पनि प्रकारको छलफलले नेपाल भारत सम्बन्धको यथास्थितिको समस्या समाधान गर्ने सामर्थ राख्दैन।’ 
यो प्रकरणले प्रधानमन्त्री केपी शर्मा ओली नेपालको अन्तर्राष्ट्रिय सम्बन्धलाई सही दिशानिर्देश तथा राष्ट्रिय हितमा प्रयोग गर्न पूर्णरुपमा असक्षम भएको प्रष्ट पारेको थापाको भनाइ थापाको छ।  बुधबार बेलुका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय ‘रअ’ प्रमुख सामन्तकुमार गोयलसँग बालुवाटारमा भेटघाट गरेका थिए।

कात्तिक ७, २०७७ शुक्रबार १६:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।