मुख्यमन्त्री पौडेललाई थप उपचारका लागि काठमाडौं ल्याइयो
काठमाडौं : कोरोना संक्रमित बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल दम्पतीलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ।
कोरोना संक्रमण पुष्टि भएपछि पौडेल दम्पती होम आइसोलेसनमा बसेका थिए। नेपाली सेनाको हेलिकप्टरमार्फत् थप उपचारका लागि पौडेल दम्पतीलाई नै काठमाडौं लगिएको पौडेलका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए।
मधुमेहका बिरामी मुख्यमन्त्री पौडेलको केही महिनाअघि मुटुको शल्यक्रियासमेत गरिएको थियो। एक दिनअघि कोरोना संक्रमण पुष्टि भएपछि मुख्यमन्त्री निवास चौकीटोल हाइटमा हेटौँडा अस्पतालका चिकित्सकद्वारा पौडेलको उपचार गरिएको थियो।
पौडेलको उपचार गंगालाल हृदयरोग केन्द्र बाँसबारीमा भइरहेको र स्वास्थ्यावस्था सामान्य रहेको बताइएको छ। एकदिनअघि मुख्यमन्त्री पौडेलसँगै उनकी धर्मपत्नी, एक सुरक्षाकर्मी, दुई चालक र एक कार्यालय सहयोगीलाई समेत कोरोना संक्रमण पुष्टि भएको थियो।
कात्तिक ७, २०७७ शुक्रबार १६:०६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।